मकवानपुरमा ३४ वर्षपछि कम्युनिस्ट वर्चस्व समाप्त, दुवै क्षेत्रमा रास्वपाको जित

संवाददाता
२४ फाल्गुन २०८२, आईतवार १७:५१

प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ ले मकवानपुरको राजनीतिक धरातलमा ऐतिहासिक मोड ल्याएको छ । ०४८ सालदेखि निरन्तर कायम रहँदै आएको वामपन्थी वर्चस्व यसपटक समाप्त भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएपछि मकवानपुर ३४ वर्षपछि प्रतिनिधिसभामा कम्युनिस्ट जनप्रतिनिधिविहीन बनेको हो ।

आइतबार सम्पन्न मतगणनापछि मकवानपुर क्षेत्र नम्बर १ बाट रास्वपाका प्रकाश गौतम र क्षेत्र नम्बर २ बाट प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मकवानपुर १ मा रास्वपाका प्रकाश गौतम ३६ हजार ३३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले १४ हजार ३८ मत प्राप्त गरेकी छिन् । गौतम २१ हजार ९९५ मतान्तरले विजयी भएका हुन् ।

यस क्षेत्रबाट एमालेका रामेश्वर राना मगरले १२ हजार ७८३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विजय गौतमले १० हजार ७८८ मत ल्याएका छन् । उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंहले चार हजार ५७४ मत ल्याएका छन् । यस क्षेत्रमा कुल ९५ हजार ३१० मत खसेको थियो ।

यसैगरी क्षेत्र नम्बर २ मा रास्वपाका उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरेका छन् । उप्रेतीले बर्तौलालाई ११ हजार २०४ मतान्तरले पराजित गरेका हुन् । यसैगरी नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लवशेर विष्टले १२ हजार ४९२ मत ल्याएका छन । यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो ।

यस क्षेत्रबाट निर्वाचित भएका उप्रेजी २५ वर्ष १० महिनाका छन् । उनी सम्भवतः प्रतिनिधिसभामा प्रवेश गर्ने सबैभन्दा कान्छा सांसदमध्ये एक बन्ने भएका छन् । युवा उमेरमै संसदीय राजनीतिमा प्रवेश गरेका उनको जितलाई मकवानपुरको राजनीतिमा नयाँ पुस्ताको उदयका रूपमा हेरिएको छ ।

मकवानपुरमा ०४८, ०५१ र ०५६ को निर्वाचनमा तीन निर्वाचन क्षेत्र कायम थिए । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा चार निर्वाचन क्षेत्र बनाइयो भने नयाँ संविधान जारीपछि राज्य पुनर्संरचनापश्चात् ०७४, ०७९ र ०८२ को प्रतिनिधिसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्र कायम छन् ।
०४८ यता भएका अधिकांश निर्वाचनमा वामपन्थी दलहरू नै मकवानपुरबाट विजयी हुँदै आएका थिए । ०५१ सालको मध्यावधि निर्वाचनमा मात्रै क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल थापा विजयी भएका थिए भने ०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका थिए । बाँकी अधिकांश निर्वाचनमा वामपन्थी उम्मेदवारहरू नै निर्वाचित हुँदै आएका थिए ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मकवानपुरका चारवटै क्षेत्र तत्कालीन नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका थिए । त्यसयता संघीय संसदमा माओवादीले भने मकवानपुरबाट प्रतिनिधित्व गर्न सकेको छैन । ०७२ सालमा संविधान जारी भएपछि भएको ०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका दुवै क्षेत्र नेकपा (एमाले)ले जितेको थियो । क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद दाहाल र क्षेत्र नम्बर २ बाट विरोध खतिवडा निर्वाचित भएका थिए । यस्तै, ०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने क्षेत्र नम्बर १ बाट राप्रपाका दीपकबहादुर सिंह र क्षेत्र नम्बर २ बाट एमालेका महेशकुमार बर्तौला विजयी भएका थिए । यसपटक भने दुवै क्षेत्र रास्वपाले जितेको छ ।

यद्यपि, मकवानपुरको दुवै क्षेत्रमा यसपटक निर्वाचित सांसदहरूको पृष्ठभूमि भने कम्युनिस्ट नै हो । प्रकाश गौतम पूर्वमाओवादी कार्यकर्ता हुन् भने प्रशान्त उप्रेती एमालेको संगठित सदस्य रहेको परिवारबाट आएका हुन् । उप्रेतीका पिता रामचन्द्र उप्रेतीले छोरा रास्वपाबाट उम्मेदवार बनेपछि करिब ३५ वर्ष लामो एमाले सदस्यता त्यागेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*