दुर्गम कैलाश गाउँपालिकामा बल्ल अस्पताल

अब गाउँमै पाउनेछन् विशेषज्ञ उपचार सुविधा
संवाददाता
२ चैत्र २०८२, सोमबार २०:४७

मकवानपुरको दुर्गम कैलाश गाउँपालिकामा पहिलोपटक अस्पतालस्तरको स्वास्थ्य सेवा सुरु भएको छ । कैलाश– ३, कालिकाटारमा १० शैय्याको बिपी स्मृति कैलाश आधारभूत अस्पताल गत बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो, जससँगै दुर्गम भेगका स्थानीयले गाउँमै आधारभूत अस्पताल सेवा पाउने भएका छन् ।

संघ सरकारको ६ करोड ५८ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको अढाइतले भवनमा १० शैय्या क्षमताको अस्पताल सञ्चालनमा ल्याइएको हो । यसअघि स्वास्थ्य चौकीमा सीमित सेवा पाइरहेका स्थानीयले अब सामान्यदेखि प्रारम्भिक जटिल उपचारसम्म गाउँमै पाउने अपेक्षा गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार अस्पतालका लागि दुई चिकित्सकसहित २२ जनाको दरबन्दी स्वीकृत भए पनि हाल स्वास्थ्य चौकीकै उपलब्ध जनशक्तिबाट सेवा सुरु गरिएको छ ।

दरबन्दीअनुसार अस्पतालमा पाँच स्टाफ नर्स, दुई अनमि, तीन हेल्थ असिस्टेन्ट, दुई अहेव, एक कविराज, एक ल्याब टेक्निसियन, एक रेडियोग्राफर, एक फार्मेसी सहायक, एक डेन्टल हाइजिनिस्ट, एक नासु, दुई कार्यालय सहयोगी, एक सरसफाइकर्मी र एक सुरक्षाकर्मी रहने व्यवस्था छ । आवश्यक जनशक्ति पूर्तिका लागि प्रदेश र संघीय सरकारसँग माग गरिएको र छिट्टै व्यवस्थापन हुने जनाइएको छ ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानका अनुसार अस्पतालमा इमर्जेन्सी सेवासहित स्त्रीरोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे र इसिजी सेवा क्रमशः विस्तार गरिने योजना छ । २१ हजार ८५६ जनसंख्या रहेको कैलाश गाउँपालिका मकवानपुर सदरमुकामबाट करिब ४५ किलोमिटर टाढा पर्दछ । दुर्गम भूगोलका कारण यहाँका बिरामीलाई उपचारका लागि हेटौँडा, मनहरी वा भरतपुरसम्म पुग्नुपर्ने बाध्यता थियो । अस्पताल सञ्चालनपछि यो समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ ।

अध्यक्ष मोक्तानका अनुसार वर्षौँदेखि सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता थियो, अब आवश्यक उपकरण र जनशक्ति थपिँदै जाँदा गाउँमै धेरै सेवा उपलब्ध हुनेछ । अस्पताल उद्घाटनकै अवसरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा उपचार लिन आएका स्थानीयले अस्पताल खुलेकोमा खुसी व्यक्त गरेका छन् । कैलाश– १० का ५५ वर्षीय माणिकलाल स्याङ्तानले गाउँमै अस्पताल सञ्चालन हुनु ठुलो उपलब्धि भएको बताए । स्थानीय फुलकुमारी मोक्तान, सोममाया प्रजा र दिलकुमारी लामाले पनि अस्पताल खुलेपछि बजार धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरेका छन् ।

उद्घाटन समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य पहुँच दिलाउनु प्रदेश सरकारको प्राथमिकता भएको बताए । उनले हाल १० शड्ढयामा सञ्चालन भएको अस्पताललाई आगामी दिनमा २५ शड्ढयासम्म विस्तार गर्ने योजना रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*