बागमतीबाट ३१ समानुपातिक सांसद निर्वाचित, श्रम संस्कृति निल

संवाददाता
४ चैत्र २०८२, बुधबार ११:५५

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको आयोगको चैत २ गतेको निर्णयअनुसार राजनीतिक दलहरूले प्राप्त गरेको मत र क्लस्टरका आधारमा समानुपातिक तर्फको उम्मेदवारहरू निर्वाचित भएको घोषणा गरिएको हो ।

चैत ५ गते उक्त नामावली राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी आयोगले गरेको छ । आयोगका अनुसार समानुपातिक तर्फबाट निर्वाचित सांसदमध्ये बागमती प्रदेशका विभिन्न जिल्लाबाट पाँच राष्ट्रिय दलका ३१ उम्मेदवार समेटिएका छन् ।

प्रदेशका ३३ निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका समानुपातिकतर्फ ३१ जना सदस्य प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
राष्ट्रिय दलको मान्यता पाएका ६ वटा दलमध्ये पाँच वटाले प्रदेशबाट प्रतिनिधित्व पाएका छन् । तर, समानुपातिकतर्फ चार सिट जितेको श्रम संस्कृति पार्टीबाट भने बागमती प्रदेशका कसैले पनि अवसर पाउन सकेनन् ।

११ जिल्लामा क्लिनस्वीप गरेको रास्वपाबाट समानुपातिकतर्फ १८ जना

समानुपातिक तर्फबाट निर्वाचित हुनेहरूमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू छन् । बागमतीका ३३ निर्वाचन क्षेत्रमध्ये ३१ वटामा रास्वपाले प्रत्यक्षतर्फ निर्वाचन जितेको थियो । बागमतीका  ११ जिल्लामा (रसुवा र सिन्धुपाल्चोकबाहेक) त क्लिनस्वीप नै गरेको छ ।

समानुपातिकतर्फ बागमतीमा रास्वपाका सबैभन्दा धेरै १९ जना सांसद चुनिएका छन् । निर्वाचित हुनेहरूमा काभ्रेका राम लामा र रचना खतिवडा खत्री, ललितपुरका खुश्बु सरकार श्रेष्ठ, सुम्निमा उदास र प्रभा कार्की रहेका छन् ।

त्यस्तै, काठमाडौँबाट बसुमाया तामाङ, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, लिमा अधिकारी (आचार्य), विदुषि राणा, समीक्षा बास्कोटा र सीता वादी निर्वाचित भएका छन् । नुवाकोटबाट शोभा खनाल, चितवनबाट प्रभा ढकाल र अफसाना बानु, दोलखाबाट स्मृति सेन्चुरी र ललितपुरबाट तारा विश्वकर्मा पनि रास्वपाबाट सांसद बनेका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट यस प्रदेशमा ५ जना निर्वाचित भएका छन् । जसमा भक्तपुरबाट मदनकृष्ण श्रेष्ठ (अपांगता कोटा) र गंगालक्ष्मी अवाल, नुवाकोटबाट अर्जुननरसिंह केसी, धादिङबाट सीता थपलिया र मकवानपुरबाट पवित्रा विक छन् ।

त्यस्तै, नेकपा एमालेबाट ४ जना निर्वाचित भएका छन् । जसमा धादिङबाट गंगादेवी श्रेष्ठ र पुष्पराज कँडेल, चितवनबाट रामबहादुर थापा मगर र काठमाडौँबाट कुलभक्त शाक्य रहेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट ललितपुरका प्रमेश कुमार हमाल र काठमाडौँका परशुराम तामाङ निर्वाचित भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धादिङकी सरस्वती लामा र काठमाडौँकी खुश्बु ओली निर्वाचित भएका छन् ।

कुन जिल्लाबाट कति छानिए ?

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिकतर्फ निर्वाचित सदस्यहरूको अन्तिम सूचीमा बागमती प्रदेशका ९ जिल्लाको मात्र प्रतिनिधित्व भएको देखिएको छ ।

आयोगको विवरणअनुसार राष्ट्रिय दलको मान्यता पाएको श्रम संस्कृति पार्टीले देशभरबाट ४ सिट जिते पनि बागमती प्रदेशबाट कोही परेनन् । संघीय राजधानीसमेत रहेको काठमाडौँ जिल्लाबाट सबैभन्दा बढी ११ जना सांसद निर्वाचित भएका छन् ।

रास्वपाले काठमाडौँ र ललितपुरबाट सांसद छान्दा भक्तपुर, मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोकलगायत जिल्ला समेट्न सकेन । कांग्रेसले भक्तपुर, नुवाकोट, धादिङ र मकवानपुरलाई समेटेको छ भने एमालेले धादिङ, चितवन र काठमाडौँका सूचीलाई सांसद बनाएको छ ।

काठमाडौँबाट मात्र रास्वपाका ८ जना निर्वाचित भएका छन्, ती बसुमाया तामाङ, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, लिमा अधिकारी (आचार्य), विदुषि राणा, समीक्षा बास्कोटा र सीता वादी हुन् । एमालेबाट कुलभक्त शाक्य निर्वाचित हुँदा नेकपाबाट परशुराम तामाङ, राप्रपाबाट खुश्बु ओली काठमाडौँबाट निर्वाचित भएका छन् ।

ललितपुरबाट ५ जनाले २ वटा दलबाट अवसर पाएका छन्, जसमा रास्वपाबाट खुश्बु सरकार श्रेष्ठ, सुम्निमा उदास, प्रभा कार्की र तारा विश्वकर्मा तथा नेकपाबाट प्रमेश कुमार हमाल छन् । धादिङबाट एमालेका गंगादेवी श्रेष्ठ र पुष्पराज कँडेल, कांग्रेसकी सीता थपलिया र राप्रपाकी सरस्वती लामा गरी ४ जना समेटिएका छन् ।

चितवनबाट रास्वपाकी प्रभा ढकाल र अफसाना बानु र एमालेका रामबहादुर थापा मगर गरी ३ जना निर्वाचित भएका छन् । काभ्रेबाट रास्वपाबाट राम लामा र रचना खतिवडा खत्री, नुवाकोटबाट कांग्रेसका अर्जुननरसिंह केसी र रास्वपाकी शोभा खनाल समानुपातिकतर्फ सांसद बनेका छन् ।

भक्तपुरबाट कांग्रेसका मदनकृष्ण श्रेष्ठ (अपांगता/आदिवासी जनजाति क्लस्टर) र गंगालक्ष्मी अवाल समानुपातिक सांसद बनेका छन् भने दोलखाबाट रास्वपाकी स्मृति सेन्चुरी र मकवानपुरबाट कांग्रेसकी पवित्रा विक सांसद बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*