माइक्रोबस दुर्घटनाबारे छानबिन गर्न समिति

संवाददाता
२ चैत्र २०८२, सोमबार १७:४५

मनकामना–आँबुखैरेनी सडकखण्डमा भएको माइक्रोबस दुर्घटनाको कारणबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रहरी प्रमुख दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिले दुर्घटनाको वास्तविक कारणबारे अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार ओरालो सडकमा माइक्रोको ब्रेकमा समस्या आएर सवारी अनियन्त्रित भई सडकबाट खसेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटना सहिदलखन गाउँपालिका– ३ कनटारमा शनिबार साँझ करिब साढे ७ बजे भएको हो । मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको विद्युतीय माइक्रो सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटनामा परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माइक्रो दुर्घटनामा मृत्यु भएका सातैजनाको सनाखत भएको छ ।

दुर्घटनामा ज्यान गुमाउने सबै भारतीय नागरिक छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी निरीक्षक राजन लम्सालका अनुसार दुर्घटनामा भारतको तमिलनाडुका ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीय विजायल, ५८ वर्षीया मीना र ६० वर्षीया तमिलारसीको मृत्यु भएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रवक्ता लम्सालले जानकारी दिए । प्रहरीले मृतकहरूको विस्तृत ठेगाना भने सार्वजनिक गरेको छैन । प्रहरी निरीक्षक लम्सालका अनुसार माइक्रोमा चालक र सहचालकसहित १६ जना सवार थिए । चालक र सहचालक नेपाली नागरिक हुन् भने अन्य सबै यात्रु भारतीय तीर्थयात्री रहेको उनले बताए ।

दुर्घटनामा चालक र सहचालकसहित नौजना घाइते भएका छन् । घाइतेको अहिले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमा माइक्रो चालक लमजुङको सुन्दरबजार नगरपालिका– १ का ४६ वर्षीय पुष्प मल्ल ठकुरी र सहचालक लमजुङ बेँसीसहर नगरपालिका– ३ का २९ वर्षीय सन्तोष गुरुङ छन् । अन्य घाइतेमा भारतको तमिलनाडुका ६२ वर्षीया सोरनम, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीया सुभद्रा, ६५ वर्षीया मयाल, ७३ वर्षीया सरोजा, ६५ वर्षीया भाग्यलक्ष्मी र ३४ वर्षीया मीनाक्षी छन् । उनीहरू सबैको चितवनमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका सातजनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि शव भारतीय दूतावासमार्फत आफन्तको जिम्मा लगाइने तयारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर विकले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*