प्रदेश छाडेर संघको दौड : बागमतीका पाँचमध्ये तीन पूर्वसांसदको संघीय यात्रामा ‘ब्रेक’

संवाददाता
२४ फाल्गुन २०८२, आईतवार १६:४९

बागमती प्रदेश सभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका पाँच नेतामध्ये तीनजनाले हार व्यहोरेका छन्। प्रदेशको राजनीति छाडेर संघीय संसद् पुग्ने आकांक्षासहित मैदानमा उत्रिएका तीन नेता मतदाताबाट अपेक्षित समर्थन जुटाउन असफल हुँदा संघीय यात्रा अधुरै भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि गत माघ ५ मा कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका प्रकाश श्रेष्ठ र अमनकुमार मास्के, नेकपाका वसन्त मानन्धर र युवराज दुलाल तथा राप्रपाका सुनील केसीले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए। तीमध्ये पाँचजनाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए। कांग्रेसका काफ्लेले भने टिकन नै पाएनन्।

हालै सार्वजनिक मतपरिणामअनुसार एमालेका दुई र नेकपाका एक उम्मेदवार पराजित भएका छन्। एमालेबाट काठमाडौं–६ का उम्मेदवार अमनकुमार मास्के र काठमाडौं–७ का उम्मेदवार प्रकाश श्रेष्ठले हार व्यहोरेका हुन्। त्यस्तै, नेकपाका काठमाडौं–७ का उम्मेदवार वसन्त मानन्धर पनि तेस्रो स्थानमा सीमित भएका छन्।

काठमाडौं–६ मा मास्केले चार हजार ३७३ मत मात्रै पाए जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल २७ हजार ७१९ मत ल्याउँदै विजयी भए। उक्त निर्वाचन क्षेत्रमा कांग्रेसका कृष्ण बानियाँ क्षेत्री ‘सबुज’ले ६ हजार ६४७ मत प्राप्त गर्दा मास्के तेस्रो स्थानमा रहे। २०७९ को निर्वाचनमा काठमाडौं–६ (ख)बाट प्रदेश सभा सदस्य निर्वाचित भएका मास्के संघीय संसद्को प्रतिस्पर्धामा उत्रिएका थिए। उनी बागती प्रदेश सरकारमा करिब एक वर्ष भौतिक पूर्वाधार विकासमन्त्रीसमेत बनेका थिए।

यस्तै, एमालेबाट बागमतीका पूर्वप्रदेश सांसद प्रकाश श्रेष्ठले पनि प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर काठमाडौं–७ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। तर, उनी पनि पराजित भए। उनले जम्मा तीन हजार ५४४ मत पाए। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले श्रेष्ठलाई २४ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।

दुईपटक प्रदेशसभा सदस्य निर्वाचित भएका श्रेष्ठले बागमती प्रदेश सरकारमा दुईपटक मन्त्री बन्ने अवसर पाएका थिए। उनले करिब तीन महिना उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए भने एक वर्ष कृषि तथा पशुपन्छी विकासमन्त्रीका रूपमा काम गरेका थिए।

यता, काठमाडौं–७ (क)बाट तत्कालीन नेकपा एकीकृत  समाजवादीको टिकटमा प्रदेशसभा सदस्य बनेका वसन्त मानन्धर यसपटक नेकपाबाट प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–७ बाटै उम्मेदवार बनेका थिए। मानन्धर तीन हजार ६६७ मतसहित तेस्रो स्थानमा सीमित भए। उनी काठमाडौं ७ बाट विजयी रास्वपाका गणेश पराजुली र कांग्रेसका प्रमोदहरि गुरागाईँभन्दा पछाडी रहे। यससँगै प्रदेश सभा त्यागेर संघीय संसद् पुग्ने उनीहरूको प्रयास तत्कालका लागि असफल बनेको छ।

दुलाल र केसी मात्र निर्वाचित
बागमती प्रदेश सभा सदस्यबाट राजिनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका सुनिल केसी र युवराज दुलाल भने निर्वाचित भएका छन्। राप्रपाबाट प्रदेश सांसद रहेका केसी राजिनामा दिएर रास्वपाबाट काठमाडौं २ मा उम्मेदवार बनेका थिए। उनी यस क्षेत्रबाट अत्यधिक मतसहित निर्वाचित भएका छन्। केसीले ३४ हजार २३८ मत प्राप्त गर्दै संघीय संसदको यात्रा तय गरेका छन्।

यस्तै नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका दुलाल पनि निर्वाचित भएका छन्। उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। उनले संघीय संसदको यात्राका क्रममा २१ हजार ६९९ मत प्राप्त गर्दै जित निकालेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*