मकवानपुरमा पनि समानुपातिकमा रास्वपा पहिलाे दल

संवाददाता
२७ फाल्गुन २०८२, बुधबार १९:०२

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरका दुवै क्षेत्रमा प्रत्यक्षतर्फ विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो बनेको छ।

निर्वाचन कार्यालयका अनुसार मकवानपुरका दुवै क्षेत्रमा समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो। क्षेत्र नम्बर १ मा रास्वपाले ३९ हजार ८३४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। यो संख्या प्रत्यक्षतर्फ प्राप्त गरेको मतभन्दा तीन हजार ८०१ ले बढी हो। यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार प्रकाश गौतम ३६ हजार ३३ मतसहित निर्वाचित भएका छन्।

यहाँ राष्ट्रिय परिवर्तन पार्टी १५ हजार ७० मतसहित दोस्रो स्थानमा छ। नेकपा एमालेले ११ हजार २२७ मत प्राप्त गर्दा नेपाली कांग्रेसले १० हजार ७७६ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ १४ हजार ३८ मतसहित दोस्रो स्थानमा रहेको कांग्रेस समानुपातिकमा भने चौथो स्थानमा सीमित भएको छ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीले आठ हजार ४६७ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार हजार ७३ मत पाएको छ। श्रम संस्कृति पार्टीले एक हजार ६२४ मत प्राप्त गर्दा मंगोल नेसनल अर्गनाइजेसनले ३५६ र जनमत पार्टीले १७३ मत प्राप्त गरेका छन्।

यता प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपा नै पहिलो स्थानमा छ। रास्वपाले ३३ हजार ८५८ मत प्राप्त गर्दा नेकपा एमाले १६ हजार ४७३ मतसहित दोस्रो स्थानमा छ। एमालेले प्रत्यक्षतर्फ प्राप्त गरेको मतभन्दा यो संख्या दुई हजार ३७३ ले कम हो। एमालेका उम्मेदवारले प्रत्यक्षतर्फ १८ हजार ८४६ मत प्राप्त गरेका थिए।

यस क्षेत्रमा नेपाली कांग्रेसले १२ हजार ८६२ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले नाै हजार ६७९ मत पाएको छ। नेपाली कम्युनिस्ट पार्टीले नाै हजार ४३१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ५०४ मत पाएको छ। त्यसैगरी श्रम संस्कृति पार्टीले एक हजार ४६७ मत प्राप्त गरेको छ भने मंगोल नेसनल अर्गनाइजेसनले ३२४ र जनमत पार्टीले २३५ मत प्राप्त गरेका छन्।

यसअघि सार्वजनिक प्रत्यक्षतर्फको परिणामअनुसार मकवानपुर २ बाट रास्वपाका प्रशान्त उप्रेती ३० हजार ५० मतसहित विजयी हुँदा मकवानपुर १ बाट रास्वपाकै प्रकाश गौतम ३६ हजार ३३ मतसहित निर्वाचित भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*