मकवानपुरमा बदर मत बढ्यो : २०७९ भन्दा २०८२ मा प्रत्यक्षतर्फ बढी
प्रतिनिधिसभा निर्वाचन २०८२ मा मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा बदर मतको संख्या अघिल्लो निर्वाचनको तुलनामा बढेको देखिएको छ । निर्वाचन कार्यालयका अनुसार प्रत्यक्षतर्फ विशेषगरी २०७९ को निर्वाचनभन्दा यसपटक बदर मतको प्रतिशत उल्लेख्य रूपमा बढेको हो । मकवानपुरका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कुल एक लाख ८६ हजार ९५९ मत खस्दा १० हजार ६१५ मत बदर भएको मुख्य निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । अधिकांश मतपत्रमा एकभन्दा बढी चुनाव चिह्नमा छाप लगाइएकाले मत बदर भएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।
संख्या र प्रतिशतका हिसाबले मकवानपुर २ मा सबैभन्दा धेरै मत बदर भएको छ । यस क्षेत्रमा ९१ हजार ११६ मत खसेकोमध्ये पाँच हजार ४९७ मत अर्थात् ६.३ प्रतिशत बदर भएको छ । २०७९ को निर्वाचनमा भने यहाँ ४.७६ प्रतिशत मत बदर भएको थियो । यस आधारमा यसपटक बदर मतको प्रतिशत बढेको देखिन्छ ।
यस्तै मकवानपुर १ मा ९५ हजार ८४३ मत खसेकोमध्ये पाँच हजार ११८ मत अर्थात् ५.३३ प्रतिशत बदर भएको छ । अघिल्लो निर्वाचन २०७९ मा यस क्षेत्रमा ४.४६ प्रतिशत मत बदर भएको थियो । यसपटक यहाँ पनि बदर मतको प्रतिशत बढेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले बताए ।
प्रत्यक्षतर्फ मकवानपुर १ मा २१ जना र मकवानपुर २ मा २३ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये दुवै क्षेत्रमा गरी ३५ जना उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन कानुनअनुसार कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। समानुपातिकतर्फ भने प्रत्यक्षको तुलनामा बदर मत कम देखिएको छ । मकवानपुर १ मा तीन हजार ८८७ मत अर्थात् ३.५१ प्रतिशत बदर भएको छ भने ९३ हजार ७१ मत सदर भएको छ ।
मकवानपुर २ मा चार हजार ७० मत अर्थात् ४.४३ प्रतिशत बदर भएको छ । दुवै क्षेत्र गरी समानुपातिकतर्फ सात हजार ४४७ मत अर्थात् ३.३९ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । तर, समानुपातिकतर्फ भने २०७९ को निर्वाचनमा बदर मतको प्रतिशत यसपटकभन्दा बढी थियो । त्यतिवेला मकवानपुर १ मा ६.९३ प्रतिशत र मकवानपुर २ मा ४.८५ प्रतिशत मत बदर भएको थियो ।














