हेटौँडा अस्पतालको दुई सय शय्याको भवनको उद्घाटन

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास
संवाददाता
२८ फाल्गुन २०८२, बिहीबार १६:५६

बिहीबार हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालको दुई सय शय्याको विशिष्टीकृत सेवा भवन उद्घाटन गरिएको छ । भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा २८ करोड ५४ लाख लागतमा निर्माण सम्पन्न भएको ६ तले एक ब्लक र पाँच–पाँचतले दुई ब्लकको दुई सय शय्या रहेको आधुनिक भवनको उद्घाटन गरिएको हो ।

यस्तै, बिहीबार नै मुख्यमन्त्री बानियाँले प्रतिष्ठानको शैक्षिक भवन निर्माण कार्यको पनि शिलान्यास गरेका छन् । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुने भवन चालू आर्थिक वर्षको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयको रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘प्रतिष्ठानमा भर्ना भएका विद्यार्थीले प्रमाणपत्र लिने वेलासम्ममा यो संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालय भइसक्नेछ,’ उनले भने, ‘प्रदेश सरकारले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ ।’ उनले लोकतन्त्र गरिबको व्यवस्था भएकाले गरिब नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । हेटौँडा अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधार अभाव हुन नदिने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानमा हाल एमबिबिएस र एमडीसहित विभिन्न विषयमा अध्ययन–अध्यापन सुरु भइसकेको छ । नयाँ शैक्षिक भवन निर्माणसँगै स्वास्थ्य, शिक्षा, अनुसन्धान तथा सेवा विस्तार थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

मुख्यमन्त्री बानियाँले प्रतिष्ठानले हेटौँडा अस्पतालमा मात्रै सीमित नरही प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । प्रतिष्ठानबाट उत्पादन हुने स्वास्थ्य जनशक्तिले प्रदेशका विभिन्न जिल्ला र पालिकास्तरका अस्पतालमा सेवा प्रवाह गर्न सहयोग पुग्ने उनको विश्वास छ । स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले हेटौँडा अस्पतालमा डायलाइसिस सेवाको क्षमता पनि विस्तार गरिएको उनले जानकारी दिए । यसअघि १४ वटा रहेको डायलाइसिस मेसिन अहिले थप १६ वटा जडान गरी ३० वटा पुर्‍याइएको उनले बताए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री किरण थापामगरले प्रदेशअन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि र उपकरणको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले गरिब परिवारका विद्यार्थीलाई चिकित्सक बन्न प्रोत्साहन गर्न प्रदेश सरकारले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री एकालाल श्रेष्ठले अस्पताल भवन निर्माणसँगै स्वास्थ्य सेवा विस्तार र गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*