सुमी थिङको ‘जीवनको गोरेटो’ मुक्तकसंग्रह सार्वजनिक
मकवानपुरकी १४ वर्षीया नवसर्जक सुमी थिङको मुक्तकसंग्रह ‘जीवनको गोरेटो’ सार्वजनिक गरिएको छ। नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा शनिबार हेटौँडामा कृतिको विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको हो ।
हेटौँडा १ स्थित अमर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुमिको यो पहिलो कृति हो । कम उमेरमै साहित्य सिर्जनामा सक्रिय रहेकी उनले लेखेका मुक्तकहरू समेटिएको सङ्ग्रहलाई नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेको हो ।
कार्यक्रममा साहित्यकार सानु खनाल र विविशा रुम्बाले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै सुमिले कम उमेरमै साहित्यिक चेतना र संवेदनशीलता प्रस्तुत गरेको उल्लेख गरे ।
नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार तथा अमर माविका सहायक प्रधानाध्यापक डी.बी.बर्तौलाको सम्पादनमा प्रकाशित कृतिको विमोचन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि हेटौँडा १ का वडा अध्यक्ष सविन न्यौपाने, अग्रज साहित्यकारहरु डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रधानाध्यापक मालती उप्रेती, चौतारीका संरक्षक तथा परिकल्पनाकार दीपक गौतम तथा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनालगायतले सुमिको सिर्जनात्मक यात्राको प्रशंसा गरेका थिए ।
नवसर्जक चौतारीले देशभरका २५ वर्षमुनिका नवसर्जकको नेतृत्वमा पठन तथा लेखन संस्कृतिको विकास गर्दै आएको र नवसर्जकका कृति प्रकाशन गर्दै आएको संस्थाकी महासचिव स्वस्तिका दाहालले जानकारी दिइन् ।














