कनटार इभी माइक्रो दुर्घटना: सातजनाको मृत्यु, नाैजना घाइते
गोरखाको मनकामना दर्शन गरेर फर्किँदै गरेको इभी माइक्रो दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । दुर्घटनामा परी नाैजना घाइते भएका छन् । मृत्यु हुनेमा पाँचजना पुरुष र दुईजना महिला रहेका छन् । माइक्रोमा चालक र सहचालकसहित १६ जना सवार थिए ।
मृतक सबै भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । उनका माक्रोका चालक र सहचालक नेपाली रहेको र बाँकी सबै भारतीय रहेका छन् । घाइते नाैजनालाई नै आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ ।
प्रवक्ता लम्सालका अनुसार गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ३, कनटार भन्ने ठाउँमा माइक्रो दुर्घटना भएको हो । उनका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो मनकामना दर्शन गरेका दर्शनार्थी बोकेर आबुँखैरेनीतर्फ फर्किने क्रममा दुर्घटनामा परेको हो ।
ओरालो झर्ने क्रममा माइक्रोको गति अनियन्त्रित भई सडकबाट अन्दाजी दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रवक्ता लम्सालले बताए । मृतक र घाइते सबैको पहिचान खुल्न बाँकी रहेको प्रवक्ता लम्सालको भनाइ छ ।














