तीर्थयात्री सवार माइक्रो दुर्घटना हुँदा मृत्यु भएका सातैजना भारतीयको सनाखत

नाै जना घाइतेको चितवनमा उपचार हुँदै, अधिकांशको अवस्था गम्भीर
संवाददाता
१ चैत्र २०८२, आईतवार १०:४९

गोरखाको मनकामना दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री सवार माइक्रो दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाउने सबै भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।

प्रहरी निरीक्षक लम्सालका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू भारतीय नागरिक ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीय विजायल, ५८ वर्षीया मीना र ६० वर्षीया तमिलारशी रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरूको विस्तृत ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन ।

उनका अनुसार माइक्रोमा चालक र सहचालकसहित १६ जना सवार थिए । चालक र सहचालक नेपाली नागरिक हुन् भने अन्य सबै यात्रु भारतीय तीर्थयात्री रहेको प्रवक्ता लम्सालले बताए।

नौजना घाइते

दुर्घटनामा चालक र सहचालकसहित नौजना घाइते भएका छन् । घाइतेलाई घटनास्थलबाट उद्धार गरी सुरुमा आँबुखैरेनी अस्पतालमा लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ। घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रवक्ता लम्सालले बताए।

घाइतेमध्ये माइक्रोचालक लमजुङ सुन्दरबजार नगरपालिका– १ निवासी ४६ वर्षीय पुष्प मल्ल ठकुरी र सहचालक लमजुङ बेँसीसहर नगरपालिका– ३ निवासी २९ वर्षीय सन्तोष गुरुङ पनि गम्भीर घाइते भएका छन् ।

त्यसैगरी, भारतका ६२ वर्षीया सोरनम, ६५ वर्षीय मंगदा जलम, ७५ वर्षीया सुभद्रा, ६५ वर्षीया मयाल, ७३ वर्षीया सरोजा, ६५ वर्षीया भाग्यलक्ष्मी र ३४ वर्षीया मीनाक्षी पनि घाइते भएका छन्। उनीहरू सबैको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना सहिदलखन गाउँपालिका– ३, कनटारमा शनिबार साँझ करिब साढे सात बजे भएको थियो । मनकामना दर्शन गरेर फर्किँदै गरेको बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा मृत्यु भएका सातजनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ । मनकामना मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका यात्रु बोकेको माइक्रो ओरालो सडकमा अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*