बागमती सरकारद्वारा ३२ वटा ‘प्रदेश गौरवका आयोजना’ छनौट

संवाददाता
२ माघ २०८२, बिहीबार २१:११

बागमती प्रदेश सरकारले बैठकले ३२ वटा ‘प्रदेश गौरवका आयोजना’ छनोट गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयहरुले प्रस्ताव गरेका प्रदेश गौरवका आयोजना तथा बहुवर्षीय आयोजनाहरुलाई पारित गरेको हो ।

सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार सरकारले प्रदेशमा ३२ वटा आयोजनाहरुलाई गौरवको आयोजनाका रुपमा अघि बढाइनेछ । गौरवको आयोजना अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयका १७ वटा, खानेपानी तथा सरसफाइ मन्त्रालयका ९ वटा, पर्यटन मन्त्रालयका ३ वटा र स्वास्थ्य मन्त्रालयका ३ वटा आयोजनाहरु रहेका छन् । सो आयोजनाहरुको हाल शीर्षक मात्र स्वीकृत गरिएको र बजेटको हकमा आर्थिक मामिला मन्त्रालयले वित्तीय व्यवस्थापनको क्षमता हेरेर तय गर्ने उनले बताए ।

बैठकले बहुवर्षीय आयोजनाहरुको हकमा नामसहितको प्रस्ताव पारित गरी बजेट सिलिङका लागि अर्थ मन्त्रालयको सहमति अनुसार अघि बउने निर्णय गरेको उनले बताए । बैठकले केही समयदेखि रोकिएको सचिवहरुको तलबका विषयमा पनि बैठकमा छलफल गरी प्रदेश ऐनले तोकेको बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा तयार गरी परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ । निजामती सेवा ऐनले निदृष्ट गरे बमोजिमका विषयमा थप प्रष्ट पार्न र ऐनले नसमेटेका विषयहरुलाई तोकीएको ढाँचामा प्रस्तुत गर्न नियमावली तयारी गरिएको हो । सो नियमावलीको मस्यौदालाई प्रभावकारी र व्यवहारिक बनाउन आयोगको परामर्श लिने गरी पठाउने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा ‘विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष नियमावली २०८२’ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा ‘प्रादेशिक कृषि थोक बजार सञ्चालन निर्देशिका २०८२’ को मस्यौदा स्वीकृत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*