राष्ट्रिय सभा निर्वाचनः बागमतीको २ सिटमा ६ जनाको उम्मेदवारी
आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट ६ जनाले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेशका २ सिटका लागि सत्ता गठबन्धन, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र नेमकिपाको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
बागमती प्रदेशसभाअन्तर्गत महिला र अन्य क्लस्टरमा हुने निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेसबाट एक महिला र नेकपा एमालेको तर्फबाट एक पुरुष उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले महिला क्लस्टरमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनको तर्फबाट उनले बुधबार हेटौंडा–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएकी हुन् । बागमती प्रदेशसभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा समर्थक रही देवकोटाले उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यस्तै सत्ता गठबन्धनको तर्फबाट एमालेका डा। प्रेमप्रसाद दंगालले अन्य क्लस्टरमा उम्मेदवारी दर्ता गरेका छन् । उनका प्रस्तावक बागमती प्रदेशसभा सदस्य एवम् प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी र समर्थक मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा रहेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रेम सापकोटा ९राजेन्द्र०ले उम्मेदवारी दर्ता गराएका छन् । अन्य क्लस्टरमा उम्मेदवार बनेका उनका प्रस्तावकमा बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री समर्थक रहेका छन् । सापकोटा माओवादी केन्द्र समर्थक हुन् ।
नेकपाको तर्फबाट महिला क्लस्टरमा सरोज कुमारी झाले उम्मेदवारी दर्ता गरेकी छन् । झाका प्रस्तावक हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामा र समर्थक मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर रहेकी छन् । झा एकीकृत समाजवादीमा आवद्ध छन् ।
त्यसैगरी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेमकिपाका तर्फबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेशका अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनले मनोनयन दर्ता गरेका छन् । ढुकुछुको मनोनयन प्रस्तावक सुनिल प्रजापति र समर्थक रजनी जोशीको समर्थनमा दर्ता भएको छ । महिलातर्फकी उम्मेदवार महर्जनको मनोनयन भने प्रस्तावक सुरेन्द्रराज गोर्साई र समर्थक सृजना सायजुको समर्थनमा दर्ता भएको हो ।
सत्ता गठबन्धनको स्पष्ट बहुमत
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा साझेदारी गरेका कांग्रेस र नेकपा एमालेको बहुमत पुग्ने भएको छ । १८ पदका लागि हुने निर्वाचनमा बागमती प्रदेशबाट २ जना सदस्यको पदावधि रिक्त हुने र सो पदमा निर्वाचन हुने तयारी भइरहँदा कांग्रेस र एमालेबिच गठबन्धन भएमा कुल मतदाताको बहुमत कायम हुने देखिएको छ ।
बागमती प्रदेशबाट अन्य क्लस्टरका बेदुराम भुषाल र गंगाकुमारी बेलवासेको पदावधि आगामी फागुनमा सकिँदै छ । बागमती प्रदेशको चुनावी अंकगणित अनुसार ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा दलहरूको मतभार गठबन्धनको बहुमतको स्थितिमा रहेको हो । बागमती प्रदेशको कुल मतदाता ११० प्रदेश सांसद र २३८ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३४८ छ । एक जनप्रतिनिधि भने भ्रष्टाचार मुद्दाका कारण मतदानमा सहभागी हुन पाउने छैनन्, जसले गर्दा कुल मतदाता संख्या ३४७ कायम छ ।
बागमती प्रदेशका ११० सांसद र २३७ स्थानीय तहका प्रतिनिधिहरूको कुल मतभार १० हजार ३३३ रहेको छ । सो मतभारमा प्रदेशसभाका सांसदको मतभार ९५३ को दरले० ५ हजार ८३० र स्थानीय तह प्रतिनिधिहरूको मतभार ९१९ का दरले० ४ हजार ५०३ हुन आउँछ ।
बागमती प्रदेशमा नेपाली कांग्रेस ४ हजार १३ मतभारसहित पहिलो दलको रूपमा रहेको छ । कांग्रेससँग प्रदेशसभामा ३७ सिट छ भने स्थानीय तहतर्फ १०८ प्रमुख तथा उपप्रमुखहरू रहेका छन् । कांग्रेसका एक जनप्रतिनिधि भने भ्रष्टाचार मुद्दाका कारण निलम्बित रहेकाले कांग्रेसको कुल जनप्रतिनिधि संख्या १४५ रहेको छ । सो निर्वाचनमा कांग्रेससँग प्रतिस्पर्धा गर्न अन्य दलहरूलाई कठिन देखिन्छ ।
तथ्यांक अनुसार नेकपा एमाले २ हजार ५७१ मतभारका साथ दोस्रो स्थानमा छ । गठबन्धन हुँदा कांग्रेस र एमालेको कुल मतभार ६ हजार ५६५ पुग्छ । जुन कुल मतभारको स्पष्ट बहुमत हो । गठबन्धन हुँदा कांग्रेस र एमालेका कुल प्रदेश सांसद ६४ र स्थानीय तहमा १६७ प्रतिनिधि रहनेछन् ।
नेकपा माओवादी केन्द्र २ हजार १९६ मतभार र नेकपा एकीकृत समाजवादी ५४२ मतभार छ । हाल माओवादी केन्द्र र एकीकृत समाजवादी एकतामा रहेकाले उनीहरूको कुल मतभार २ हजार ७३८ हुन आउँछ ।
प्रदेशसभामा १३ सिट भए पनि स्थानीय तहमा कमजोर पकडका कारण राप्रपाको कुल मतभार ७०८ मात्र छ भने नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्र उम्मेदवारको १९ मतभार छ ।
बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित गठबन्धन कायम रहे उनीहरूको पक्षमा कुल मतभार ५ हजार ३०९ पुग्छ ।















