बागमती प्रदेशमा सचिवहरूको जिम्मेवारी हेरफेर, कुन मन्त्रालयमा को ?

संवाददाता
२५ पुष २०८२, शुक्रबार १९:३२

बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालयमा कार्यरत सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय सरकारबाट आएका सहसचिव (प्रदेश सचिव) र प्रदेशका ११ औं तहका सचिवहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।

पुस १६ मा निर्णय भएपनि मुख्यमन्त्री इन्दबहादुर बानियाँ र प्रमुख सचिव बाबुराम अधिकारीबिच छलफलपछि पुस २४ गते बिहीबार उनीहरुको जिम्मेवारी तोकिएको हो । निर्णयअनुसार युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव बलराम ढकालको राष्ट्रपति कार्यालयमा सरुवा भएकाले रिक्त पदमा संघीय सरकारबाट सरुवा भई आएकी गोमा हुमागाईंलाई जिम्मेवारी तोकिएको छ ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव हेमराज भुसाललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ भने हेमराज भुसालको स्थान (उद्योग मन्त्रालय)मा जीवलाल भुसाललाई जिम्मेवारी दिइएको छ ।

यसअघि श्रम मन्त्रालयमा कार्यरत सचिव रामबाबु पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत खुबीराम अधिकारीलाई सामाजिक विकास मन्त्रालयमा पठाइएको छ ।

४३ दिनमा फेरियो सचिव पुरीको जिम्मेवारी

बागमती प्रदेश सरकारले ४३ दिनमा नै सचिव रामबाबु पुरीको जिम्मेवारी फेरबदल गरेको छ । गत मंसिर ३ मा प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएका सचिव पुरीको पुस १६ मा नै सरुवा गरिएको हो ।

४३ दिन उक्त मन्त्रालयमा काम गरेका सचिव पुरीलाई दोहोरो जिम्मेवारी दिइएको छ । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

यातायात कार्यालय बालाजुको ट्रायल सेन्टर टेण्डरको क्रममा श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले आफूलाई असहयोग गरेको भन्दै सचिव पुरीलाई मन्त्रालय छाडेर जान भनेका थिए । ट्रायल सेन्टरको विवादमा मन्त्री थापाको प्रवृत्तिका कारण सचिव पुरी आफ्नो जिम्मेवारी फेरिदिन प्रमुख सचिव बाबुराम अधिकारी समक्ष पुगेका थिए । त्यसको एक सातापछि उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*