कांग्रेस विशेष महाधिवेशन स् बागमतीको अवस्था के छ ?
यतिबेला नेपाली कांग्रेस विशिष्ट अवस्थामा छ । देशको ठुलो दल आन्तरिक किचलो झेल्दै विशेष महाधिवेशनमा होमिएको छ । पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना हुँदै छ, जसमा कांग्रेस संस्थापन पक्षका २९ केन्द्रीय सदस्यहरूले खुलेरै समर्थन गरेका छन् ।
देशको केन्द्र भागमा रहेको बागमती प्रदेशमा पनि विशेष महाधिवेशनको विषयले संगठनमा व्यापक ध्रुवीकरण देखिएको छ । देशकै राजधानीसमेत रहेको यस प्रदेशमा कांग्रेसको उपस्थिति बलियो भए पनि आन्तरिक गुटबन्दी र सत्ता साझेदार दलहरूसँगको समन्वय मुख्य चुनौती बनेको अवस्था छ ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँ विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । उनले केही दिनअघि ५ प्रदेशका सभापतिसंग मिलेर सामूहिक विज्ञप्ति निकाल्दै विशेष महाधिवेशनको औचित्य नरहेको टिप्पणी गरेका थिए भने उनको नेतृत्वमा रहेका दुई महामन्त्री भने औपचारिक रूपमा खुलेका छैनन्, प्रदेश महामन्त्री कन्चनचन्द्र बादे र राजु श्रेष्ठ विशेष महाधिवेशन नभई नियमित महाधिवेशन हुनपर्नेमा देखिन्छन् ।
बादे कांग्रेस नेता प्रकाशमान श्रेष्ठनिकट हुने भने श्रेष्ठ देउवा पक्षका । प्रदेशका मुख्यमन्त्रीसमेत रहेका बानियाँको क्याबिनेटमा सामाजिक विकास मन्त्री रहेका बादे विशेष महाधिवेशनको विषयमा खासै बोलेका छैनन् । बादे र कांग्रेस महामन्त्री थापासँगको सम्बन्ध पनि सौहार्द देखिँदैन । केही महिनाअघि काभ्रेमा भएको एक औपचारिक कार्यक्रममा नै बादेले महामन्त्री थापालाई लक्षित गर्दै ुबाख्रा चोरुहरूलाई कांग्रेसको नेतृत्वमा समर्थन गर्न नसकने टिप्पणी गरेका थिए, जसका कारण उनको कांग्रेस वृत्तमा आलोचनासमेत भएको थियो ।
यता प्रदेश महामन्त्री श्रेष्ठले भने सामाजिक सञ्जालमा हेरेक दिन फरक–फरक पोस्टमाफर्त विशेष महाधिवेशन उचित नभएको टिप्पणी गर्दै आएका छन् । शनिबार पनि उनले विगतको घटनाक्रमसहित तस्बिर राख्दै अर्का महामन्त्री शर्मालाई निर्णयको विषयमा सोच्न आग्रह गरेका छन् ।
मुख्यमन्त्रीसमेत रहेका प्रदेश सभापति बानियाँसहित दुई महामन्त्री विशेष महाधिवेशनको विपक्षमा देखिँदा अन्य दुई उपसभापतिसहित पाँच पदाधिकारी भने पक्षमा देखिएका छन् ।
प्रदेश कार्यसमितिका पाँच जना पदाधिकारीहरू पार्टीको विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् । पदाधिकारीहरूले आगामी पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी हुन संयुक्त विज्ञप्ति नै जारी गरेका हुन् ।
प्रदेश समिति उपसभापतिद्वय चन्द्र महर्जन र मोहन बहादुर बस्नेत, कोषाध्यक्ष डा। भद्रा पराजुली भण्डारी, तथा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठको उक्त कदमलाई पार्टीभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । उनीहरूले जारी गरेको विज्ञप्तिअनुसार कांग्रेसका ५४।५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाई माग गरेकाले पार्टीको विधान २०१७ ९संशोधन सहित० को व्यवस्था अनुरुप यो महाधिवेशन बोलाइएको हो । ‘महाधिवेशन प्रतिनिधिहरूको आवाजलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी र दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ, ‘लामो असहजतालाई चिर्दै विधि र पद्धतिलाई कार्यान्वयनतर्फ उन्मुख गराउन हामी दृढ संकल्पित छौँ ।’
प्रदेश कार्यसमितिका बहुमत पदाधिकारीहरू विशेष महाधिवेशनको पक्षमा उभिँदा कांग्रेसको संस्थापन र इतरपक्षबिचको शक्ति संघर्षलाई थप सतहमा ल्याइदिएको छ । पार्टीभित्रको आन्तरिक समीकरणमा सो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ, जसले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत दबाबमा पारेको देखिन्छ ।
प्रदेशका पाँच जिल्ला सभापतिको समर्थन
कांग्रेस विशेष महाधिवेशनलाई प्रदेशका पाँच जिल्ला सभापतिहरूले समर्थन गरेका छन् । कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ, सिन्धुपाल्चोकका सभापति जगत बहादुर लामा, काभ्रे सभापति तीर्थ लामा, काठमाडौँ सभापति सबुज बानियाँ र रसुवा सभापति पेम्बा छिरिङ तामाङ विशेष महाधिवेशनको पक्षमा खुलेका हुन्, उनीहरूले यसबारे विज्ञप्ति नै जारी गरेका छन् । जहाँ कांग्रेसलाई थप एकताबद्ध बनाउँदै नयाँ ऊर्जा र स्पष्ट दिशाबोध प्रदान गर्ने विश्वाससहित पार्टीभित्र देखिएको अन्योल, मतभेद र संगठनात्मक जडता अन्त्य गर्न विशेष महाधिवेशन महत्त्वपूर्ण अवसर भएको ठहर गरेका छन् ।
यता बागमती प्रदेशका अरू पाँच जिल्लाका सभापति भने विशेष महाधिवेशनको पक्षमा छैनन् । पाँचमध्ये चार सभापतिले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन वैधानिक नरहेकाले सहभागी नहुन महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नुवाकोट सभापति रमेश कुमार महत, चितवन सभापति रामेश्वर खनाल, धादिङ सभापति रामनाथ अधिकारी, दोलखा सभापति वर्मा लामाले विशेष महाधिवेशनको औचित्य नरहेको जनाएकाछन् ।
मकवानपुर सभापति बुद्ध लामा पनि केन्द्रीय नेतृत्वको निर्णयअनुसार अघि बढ्नुपर्ने बताउँछन् । केन्द्रबाट विशेष महाधिवेनको विषय नआएकाले नियमितमार्फत नै अघि बढ्नुपर्ने उनको भनाइ छ । सिन्धुली सभापति उपेन्द्र पोखरेल, भक्तपुर र रामेछाप जिल्लाका सभापति विशेष महाधिवेशनको विपक्षमा छन् ।
बागमतीबाट विशेष महाधिवेशनमा ५०९ को हस्ताक्षर
बागमतीका १३ जिल्लाबाट विशेष महाधिवेशनको पक्षमा ५०९ जनाले हस्ताक्षर गरेका छन् । काठमाडौँमा १६१ जना विशेष महाधिवेशनको पक्षमा खुलेका छन्, काठमाडौँमा मात्र ३०० प्रतिनिधि रहेका छन् ।
चितवन सभापति खनाल विशेष महाधिवेशनको विपक्षमा देखिए पनि चितवनबाट ६३ जना महाधिवेशन प्रतिनिधिहरूले विशेषका लागि हस्ताक्षर गरेका छन् । दोलखामा ८ जना महााधिवेशन प्रतिनिधि विशेषको पक्षमा देखिएका छन् । धादिङमा ३८, भक्तपुरका २६ जना, ललितपुरका ३०, रसुवामा २१, सिन्धुपाल्चोकका २८, रामेछापका १६, सिन्धुलीका ३३, नुवाकोटका २९, काभ्रेका ३१ र र मकवानपुरका २५ जनाले विशेष महाधिवेशन चाहेर हस्ताक्षर गरेका छन् ।














