वित्तीय कारोबारबाट माथि उठेर उत्पादनमा अग्रसर ‘सर्वोत्तम साचिती’

संवाददाता
२६ मंसिर २०८२, बिहीबार २१:१४

पछिल्लो समय ‘सहकारी’ शब्द सुन्नासाथ सर्वसाधारण झस्किने वातावरण निर्माण भइरहेको छ भने देशभरका अधिकांश सहकारी संस्थाहरु निक्षेप फिर्ता गर्न नसकेर भाग्नुपर्ने अवस्था, तरलता अभाव र जनविश्वासको गहिरो संकटबाट गुज्रिरहेका छन् । सहकारीका समस्याहरु हल गर्न नसक्दा सामान्य नागरिकदेखि ठुलाघरानाका व्यवसायीहरु मारमा परेका छन् ।

उक्त अवस्थाका बिच केही सहकारीहरु भने आफूलाई आर्थिक तथा सामाजिक रुपमा शसक्त बनाउने गरी उत्पादनमा अग्रसर भएका छन् । सहकारीका संकट गहिरिदै गएका बखत मकवानपुरको हेटौंडा–८, राजपानीमा मुख्य कार्यालय रहेकोसर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था लिमिटेड भने स्थानीय नागरिकको आमदानिको स्रोत बने लयमा छ । सदस्यहरुको आय स्रोत मात्र नभइ आम उपभोक्तामा सहुलियत दरमा स्वच्छ खाद्यान्न उपभोग अधिकार प्रत्याभुत गराउन सर्वोत्तम संचिति सहकारी प्रयत्नरत रहेको छ ।

बचत संकलन गर्ने र महँगो ब्याजमा ऋण लगानी गरेर नाफा कमाउने परम्परागत शैलीलाई त्याग्दै सर्वोत्तम संचिति सहकारीले आफूलाई ‘उत्पादन र उद्यमशीलता’ को आधार स्तम्भमा खडा गरेको छ । आफ्नै उद्योगमा उत्पादीत सामग्रीलाई बजारीकरण गर्ने गरी सहकारीले २६ जनालाई रोजगारी प्रदान गरेको छ । सो जनशक्तिले सहकारीका समुह परिचालन देखि विक्रि वितरण र उत्पादनमा समेत काम गर्दै आएका छन् ।

स्वयंसेविकाको सपनादेखि ‘उत्पादन र उद्यमशिलता’ सम्म

वि।सं। २०६३ सालमा तत्कालीन नगरपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक विकास केन्द्रको रुपमा स्थापना भएको थियो । सामुदायिक विकास केन्द्र नेपालको सहयोगमा सानो पुँजीबाट सुरु भएको सर्वोत्तम संचिति सहकारीले १८ वर्षको अवधिमा १८ करोड रुपैयाँको वार्षिक कारोवारको उद्यमशिलता खडा गरेको छ ।

२०७६ मा हेटौंडा–१० को एक सहकारीसँग एकीकरण भएपछि सर्वोत्तम संचिति सहकारीको रुपमा संचालनमा ल्याइएको हो । संस्थाले वित्तीय कारोबारलाई मात्र टिक्न नसक्ने देखेर संस्थाका नेतृत्वकर्ताहरुले उत्पादनमा केन्द्रीत हुने निर्णय लिए ।

‘सहकारीले केवल पैसाको ब्याज खाने काम गर्नु भनेको ‘नव सामन्तवाद’ लाई बढावा दिनु हो ।’ सहकारीका अध्यक्ष राम बहादुर बस्नेतले भने, ‘सोही सोचका साथ २०७५ सालदेखि संस्थाले पूर्ण रुपमा उत्पादनको बाटो समात्यको हो । संस्थाले स्थानीय सदस्यहरुलाई समुहमा विभाजन गरी उत्पादनमा आवद्ध गर्ने काम गरिरहेको छ ।’

‘एक समूह, एक उत्पादन’ः ६५ खाद्यान्नको तयारी

संस्थाले सदस्यहरुलाई नै व्यवसायी बनाउने अभियान थालेको छ । संस्थाका अध्यक्ष स्नेतका अनुसार, सहकारीले ‘एक समूह, एक उत्पादन’ नीति अनुरुप ३० वटा समूह परिचालन गरेको छ ।

अहिले सहकारीको आफ्नै ब्रान्डमा ६५ प्रकारका दैनिक उपभोग्य वस्तुहरु उत्पादन भइरहेको उनले बताए । तोरीको तेल, चामल, दाल, बेसार, कोदो र फापरको पिठोदेखि लिएर गाई, भैंसी, बाख्रा र बंगुरका लागि आवश्यक धुलो तथा पेलेट दानासम्म सहकारी आफैले उत्पादन गरिरहेको उनले बताए ।

सहकारीले उत्पादन मात्र नभइ उपभोक्ताको अधिकार समेत सुनिश्चितताको प्रयत्न गरिरहेको उनको भनाई छ । सहकारी मार्फत् उपभोक्तासम्म खाद्यान्नहरु सहुलियतमा पुर्‍याउने तथा विचौलियाको अन्त्यका लागि काम गरिरहेको उनले बताए ।

किसानले उत्पादन गरेको वस्तुको मुल्य नपाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने बजारको विडम्बनालाई सहकारीले तोड्ने प्रयास गरेको उनको भनाई छ । ‘मेरो उत्पादन, म उपभोक्ता’ भन्ने सिद्धान्त यहाँ व्यवहारमा लागु गरिरहेको उनले बताए । मकवानपुर सहित बारा, पर्सा, सिन्धुली र चितवन तथा अन्य जिल्लाबाट खाद्यान्नका कच्चा पदार्थ खरिद गरेर प्रशोधन गरी तयार गरेर विक्रिका लागि पठाउने गरेको उनले बताए ।

‘हामी सदस्यले उत्पादन गरेको बेसार वा अन्य कच्चा पदार्थ खरिद गर्दा बजारको सस्तो मूल्यलाई होइन । किसानको लागत र श्रमलाई आधार मान्छौँ । कृषकहरुको नाफा सुनिश्चित गरेर किन्छौँ । आफ्नै मिलमा पिस्छौँ र प्याकेजिङ गरेर सहुलियत दरमा पुनः सदस्य तथा उपभोक्तालाई नै बिक्री गर्छौँ । यसले सदस्यको उत्पादन पनि बिक्यो र उपभोक्ताले शुद्ध खाना पनि खान पाए ।’

२०९० देखि सदस्यलाई पेन्सन

सहकारीले आफ्ना सदस्यहरुको भविष्य सुरक्षित गर्न दीर्घकालीन योजनाहरु पनि अघि सारेको छ । वि।सं। २०९० सालदेखि शेयर सदस्यहरुलाई पेन्सन वितरण गर्ने योजजा अनुसार कार्यक्रम संचालन गरिएको उनले बताए ।

संस्थाले २०८० बाट उक्त पेन्सन योजना अनुसार कार्यक्रम संचालनमा ल्याएको उनले बताए । संस्थाका सदस्यले सेयर वापत पहिलो पटक ८ हजार रुपैयाँ दाखिला गर्ने र हरेक महिना २०० रुपैयाँ बचत गर्ने गरी १० वर्षे कार्यक्रम लागु गरिएको उनले बताए ।

१० वर्ष पुरा भएपछि सो कार्यक्रममा सहभागिक भएका सदस्यहरुलाई पेन्सन उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए । संस्थाले उक्त कार्यक्रममा सहभागि सदस्यलाई २०९० बाट मासिक जीविको पार्जनका लागि आवश्यक खाद्यान्न पेन्सनका रुपमा उपलब्ध गराउने उनको भनाई छ । हालसम्म सो कार्यक्रममा ७०० जना सदस्यहरु सहभागि भएको उनको भनाई छ ।

‘पेन्सनमा हामी नगद दिदैनौं । २०८० बाट सुरु गरिएको सो कार्यक्रममा ८ हजार रुपैयाँको सेयर खरिद गर्नुपर्छ भने २०० रुपैयाँ मासिक १० वर्षसम्म जम्मा गर्नुपर्छ ।’ उनले भने, ‘१० वर्ष पुरा भएपछि ९२०९० सालबाट० एउटा परिवारलाई जीविकोपार्जन गर्न पुग्ने गरी मासिक रुपमा खाद्यान्न ९दाल, चामल, नुन, तेल लगायत० सहकारीका उत्पादन नै पेन्सनको रुपमा दिनेछौं । सदस्यको निधन पछि पनि सम्बन्धीत हकवालालाई पनि सो सुविधा उपलब्ध गराइनेछ ।’

उनका अनुसार सहकारीमा भिड जम्मा गर्नुभन्दा गुणस्तरीय सदस्य राख्ने नीति अनुरुप सक्रिय सदस्य संख्या ३ हजार ५०० भन्दा बढाइने छैन । हाल ३,००९ जना सक्रिय सदस्य रहेका छन् भने ५०० जना निकिृय सदस्यहरु रहेका छन् । सहकारीले उक्त निश्किृय सदस्यहरुलाई सक्रिय गर्ने तथा हटाउने गरी कार्यक्रम तय गरेको उनको भनाई छ ।

सहकारीले उत्पादीत सामग्री विक्रि वितरणको लागि हेटौंडा–४ र ८ मा सञ्चालित मार्ट प्रयोग गर्दै आएको छ । सो मार्टलाई विस्तार गर्दै ८ वर्षभित्र नगरका सबै वडामा उत्पादीत खाद्यान्न विक्री केन्द्र खोल्ने लक्ष्य सहकारीले राखेको छ ।

साधारणसभामा खाद्यान्न प्रदर्शनी मेला

आफ्नो उत्पादन बारे जानकारी गराउन सहकारीले मंसिर २६ र २७ गते हेटौंडा–८ स्थित शुभम् पार्टी प्यालेसमा प्रदर्शनि आयोजना गर्दै छ । संस्थाको १९ औं वार्षिक साधारणसभाको अवसरमा संस्थाले उत्पादन गरेका खाद्यान्नलाई प्रदर्शनी मार्फत बजारिकरण गर्ने तयारी गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने उक्त प्रदर्शनीमा ५० वटा स्टल रहनेछन् । जसमा संस्थाको उत्पादनका ४० स्टल रहेन छ भने संस्थाले संचालन गरेको समुहका लागि महिला समूहका उत्पादनका ६ स्टल, रैथाने परिकार र अन्यका ४ स्टल रहने छ ।

प्रदर्शनीमा अवलोकन गर्न आउने करिब ३० हजार सर्वसाधारणलाई स्थानीय जडिबुटीबाट बनेको विशेष चिया निःशुल्क खुवाउने र उत्पादनहरुमा विशेष छुट दिने योजना संस्थाको छ । अध्यक्ष बस्नेतका अनुसार, सो मेला सहकारी पनि उत्पादनमा सफल हुन सक्छ भन्ने सन्देश प्रवाह गर्न आयोजना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*