मकवानपुरबाट लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार हेटौँडाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीका अनुसार फरक फरक ३ वटा घटनामा उनीहरूलाई पक्राउ गरिएको हो ।
हेटौँडा–५ सानोपोखराबाट २२ वर्षीय एक युवकलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको छ । बिहीबार दिउँसो ५ः१५ बजे हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरा चोक स्थित पुष्पलाल पार्क जाने बाटोबाट ती युवक पक्राउ परेका गरिएको हो ।
वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी निरीक्षक धर्मराज खत्रीको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानबाट हेटौँडा–९ त्रिवेणी बस्ने २२ वर्षीय सुमित थापा मगरलाई पक्राउ गरेको हो ।
ना २३ प ४३४ नम्बरको मोटरसाइकलमा सवार थापाको साथबाट रातो प्लास्टिकमा पोका पारिएको ४ ग्राम २७० मिलिग्राम ९प्लास्टिक बाहेक २ ग्राम ९० मिलिग्राम० खैरो हेरोइन फेला परेको प्रहरी निरीक्षक कुर्मीले बताए ।
यस्तै बिहीबार बिहान ९ः५० बजे हेटौँडा–१५ रातोमाटे स्थित पूर्व–पश्चिम सडकखण्डमा जीतपुर सिमराबाट हेटौँडातर्फ आउँदै गरेको म।प्र।०३–०३१ प ६९९० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २ जनालाई प्रतिबन्धित लागुऔषध खैरो हेरोइन सहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ बस्ने चालक २१ वर्षीय शिव पासवान र सोही मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय निरज चौधरी रहेका छन् ।
प्रहरी चौकी रातोमाटेको टोलीले चेकजाँच गर्दा उनीहरुले जुत्ताभित्र लुकाइछिपाई ल्याएको १६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो ।
त्यसैगरी, बिहीबार राती ९ः१० बजे रातोमाटेमा सवारी चेकजाँचका क्रममा थप ३ जना पक्राउ गरिएको छ । वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ज ७९८३ नम्बरको ईभी गाडीमा सवार चितवन राप्ती–८ का २८ वर्षीय कर्ण गुरुङको साथबाट १ ग्राम ६२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो ।
उक्त समयमा बागमती प्रदेश ०६–००१ ज ०४४१ नम्बरको ईभी गाडीमा सवार हेटौँडा–१२ का २७ वर्षीय सन्तोष आलेमगर र मनहरी–३ का ३० वर्षीय सानुकान्छा राईको साथबाट ४८० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो ।
पक्राउ परेका सबै ६ जनालाई नियन्त्रणमा लिई लागुऔषध कसुरमा मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।














