आन्तरिक कलहको मारमा रास्वपा स् नेतृत्व र गुटबन्दी सुल्झाउनै सकस
‘हामी आज यहाँ जसरी प्रश्न गरिरहेका छौँ । कुनै न कुनै स्थानमा हामी सबै जवाफ दिने तहमा पनि छौँ । हामी आफ्नो परिवारभित्रको कुरा बाहिर छरपस्ट परिरहेका छौँ,’ शनिबार राति १०ः३० बजे रास्वपा केन्द्रीय सदस्य राजन गौतम भन्दै थिए ।
रास्वपा केन्द्रीय समितिको विस्तारित बैठकको समापनका क्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै उनले पार्टीका शीर्ष नेतृत्व नै पार्टीको हितविपरीत मिडियाबाजीमा उत्रिएको बताए । राति अबेरसम्म रास्वपाका नेताहरूले राखेका ५ प्रतिवेदनमाथिको छलफलपछि समापन सत्रमा केन्द्रीय सदस्य गौतमले भने, ‘यहाँ कुर्ची खाली छ । फेरि पनि कुर्चीकै लडाइँ चलिरहेको छ ।’
चुनाव अगाडि पार्टीको महाधिवेशन र नेतृत्व परिवर्तन माग गर्नेहरूप्रति लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका थिए । सभापति रवि लामिछानेको विकल्प खोज्नु उचित नभएको र नेतृत्व हस्तान्तरणको विषयलाई लिएर अनावश्यक मिडिया स्टन्ट भइरहेको उनले आरोप त्यहाँ लगाए ।
रास्वपा चितवन अध्यक्ष कृष्ण भुसालका अनुसार रास्वपा पहिले ‘फर्मेसन’ भएपछि मात्र ‘रिफर्म’ हुन्छ । उनको अभिव्यक्ति केन्द्रीय सदस्य तोसिमा कार्कीलक्षित थियो । कार्कीले विस्तारित बैठकको अन्त्यतिर राखेको सुझावसहितको प्रतिवेदनमा पार्टी पुनर्गठन र फागुनको निर्वाचनअघि नै महाधिवेशनको माग गरेकी थिइन् । कार्कीको उक्त मागप्रति भुसालले उत्तर दिएका थिए । वडा, पालिका, जिल्ला र प्रदेशका संरचनाहरूको फर्मेसनपछि मात्र महाधिवेशन गर्नुपर्ने र त्यसको जिम्मेवारी सबै केन्द्रीय तहका नेतृत्वको हुनुपर्ने भुसालले त्यहाँ सम्झाए । पार्टीको नेतृत्वमा बसेर अवसर लिने तर जिम्मेवारी पूरा नगरी रिफर्मेसनको माग गर्नु अनुचित भएको उनको भनाइ थियो ।
पार्टीको राजनीतिक भविष्यको मार्गचित्र कोर्न चितवनको सौराहामा कात्तिक २१ र २२ गते आयोजना गरेको रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठकमा स्पष्ट रुपमा पार्टीभित्र गुटबन्दी र आन्तरिक कलहको मारमा देखिन्थ्यो । बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, फरक मत र नेतृत्वको विषयमा देखिएको मतान्तरले पार्टीभित्र आन्तरिक कलहलाई स्पष्ट पारेको थियो ।
बैठकमा देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधि आएका थिए । बैठकमा एजेन्डाभन्दा गुटगत चर्चा बढी भए । पार्टीको आगामी रणनीति, सांगठनिक संरचना र चुनावी एजेन्डाका विषयमा गहन छलफल खासै नभए पनि आन्तरिक विषयहरू मिलाउन प्रदेश र जिल्लागत बैठकमा प्रतिनिधिहरूको सहभागिता भने थियो ।
विषेशगरी कोशी र सुदूरपश्चिम प्रदेशका अध्यक्षसहित प्रतिनिधिहरू आन्तरिक विवाद व्यवस्थापमा छलफलमा थिए । उनीहरू कार्यवाहक सभापति डीपी अर्यालसहित शीर्ष नतृत्वसँग छुट्टाछुट्टै छलफलमा थिए । आफ्ना मागसहित केन्द्रीय समितिसँग उनीहरू छलफलमा जुटिरहेका थिए ।
विस्तारित बैठकको सुरुमै कोशी प्रदेशले असहति राख्दै आफ्ना माग पूरा गर्न आग्रह गरेको थियो । कोशी प्रदेशले पार्टी विधानले प्रदेश सभापतिलाई पदेन केन्द्रीय सदस्य मानेको अवस्थामा ‘कार्यवाहक’ को अस्पष्टताबारे स्पष्ट पार्न माग गरेको थियो । कोशी प्रदेशका सभापतिलाई रास्वपाले कारबाही गरेर कार्यवाहको जिम्मेवारी सरिना तामाङलाई दिएको छ । विस्तारित बैठकमा तामाङको प्रतिनिधित्व र पदेन केन्द्रीय सदस्य रहनेबारे नेतृत्वबाट फुकाउनुपर्ने माग गरेका थिए ।
‘हाम्रो कोशी प्रदेशका अहिले कार्यवाहक सभापति ९सरिन तामाङ० हुनुहुन्छ । पार्टीको विधानअनुसार प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ । तर, चितवनको कार्यक्रममा सबै नेताहरूको फोटो राख्दा हाम्रो कार्यवाहक सभापतिको छुट्यो,’ बैठकमा सहभालमा कोशी प्रदेशका एक नेताले भने, ‘केन्द्रले उहाँलाई सभापतिको हैसियतमा काम गर्न दिएको छ । तर फोटो नराख्दा विभेद भयो कि भन्ने हाम्रो चासो हो । हामीले यही विषयलाई उठाएका हौँ । तर यसलाई मिडियामा अलि बढी उचालियो कि जस्तो लाग्यो । यदि केन्द्रले उहाँलाई सभापति मान्दैन भने त्यो पनि स्पष्ट भन्नुपर्यो, हामी पनि मान्दैनौँ । तर मान्ने हो भने फोटो किन छुटाएको रु हाम्रो प्रश्न यति मात्रै हो ।’
बैठककै बिच उद्घाटन सत्रपछि कार्यवाहक सभापति अर्यालको राजनीतिक प्रतिवेदन पेस भएको थियो । त्यसलगत्तै केन्द्रीय सदस्य तोसिमा कार्कीले केही बोल्न खोज्दै हात उठाएकी थिइन् । तर, उनलाई समय उपलब्ध गराइएन । पटक–पटक उनले समय मागिन्, तर महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएनन् । बैठकमा बुर्लाकोटीको सांगठानिक प्रतिवेदनकै क्रममा रहेका बेला कार्कीले पुनः हात उठाएर समय मागिन् ।
बुर्लाकोटीले सेड्युलभन्दा बाहिरको विषयलाई समेट्न नसक्ने भन्दै कार्कीलाई रोके । सोही क्रममा निशा डाँगीले कार्यवाहक सभापति अर्यालसमक्ष पुगेर कार्कीलाई समय उपलब्ध गराउन भनिन् । डाँगीको आग्रहपछि उपयुक्त समयमा कार्कीको विषय बैठकमा राख्न दिनेगरी समय उपलब्ध गराइने अर्यालले बताए ।
पहिलो दिनको कार्यक्रममा कार्कीलाई समय उपलब्ध गराइएन, जसका कारण हलभित्र र बाहिरको माहोल थप बिग्रिन थाल्यो । कार्की आन्तरिक छलफलमा हरेक जिल्लाका प्रतिनिधिहरूसँग समूहगत भेटमा व्यस्त थिइन् । पार्टीको रिफर्मेसन र नेतृत्वका विषयमा अन्य प्रतिनिधिहरूसँग उनले छलफल गरिरहेकी थिइन् ।
कार्कीले प्रस्तुत गरेको ‘रिफर्मेसन मार्गचित्र’ले पार्टीको सांगठनिक, वैचारिक र नीतिगत तहमा रुपान्तरणको खाँचो औंल्याइएको छ । आफ्नो प्रस्तावमा हालको राजनीतिक परिस्थिति र जनअपेक्षालाई सम्बोधन गर्न रास्वपा ‘मूलधारको शक्ति’ बन्नुपर्नेमा उनले जोड दिएकी थिइन् । यसका लागि पार्टीको नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रममा व्यापक पुनरवलोकन र पुनर्संरचना आवश्यक रहेको उनको तर्क छ ।
डीपी–स्वर्णिमको सम्बन्ध र दीपक फ्याक्टर
विस्तारित बैठकमा कार्यवाहक सभापति अर्याल र उपसभापति स्वर्णिम वाग्लेको सम्बन्ध पनि सौहार्द नभएको प्रस्ट थियो । पार्टीका गतिविधिमा उनीहरू सँगै देखिए पनि एक–अर्काबिच सुमधुर देखिएनन् ।
बैठकको समापन सत्रमा उक्त विषयलाई अर्यालले चिर्ने प्रयत्नसमेत दिएका थिए । तर बैठकभरिका घटनाक्रम र केन्द्रीय शीर्ष नेतृत्वका अनुसार यी दुईबिच पार्टी नेतृत्वको विषयलाई लिएर मतभेद छ । दुई कार्यकाल लामिछानेको विकल्प नेदेखेका र ‘आयातित’लाई सभापति स्विकार्न नसक्ने अवस्थामा अर्याल रहेका केन्द्रीय नेताहरू नै बताउँछन् ।
पछिल्लो समय पार्टीभित्र नेताहरू, विशेषगरी वाग्ले र अन्य शीर्ष नेतृत्वबिच मतभेद रहेको भन्ने छ । जसको खण्डन गर्दै अर्यालले भने, ‘यो राष्ट्रिय स्वतन्त्र पार्टी स्थापित नहोस् र यसले देशको बागडोर नसम्हालोस् भनेर रचिएको प्रपञ्च हो । हाम्रो मित्रतामा कहिल्यै कमी आएको छैन, यस्ता कुरामा हामी अलमलिनु हुँदैन ।’ यस्ता हल्लाबाट विचलित नहुन र एकढिक्का भएर अघि बढ्न उनले बताए ।
पार्टीभित्र केन्द्रीय सदस्य दीपक बोहरा फ्याक्टरको दबदबा उच्च छ । विस्तारित बैठकभर अध्यक्षता ग्रहण गरेका कार्यवाहक सभापति अर्यालका अधिकारमाथि बोहरा समूहले पटक–पटक धावा बोलेको थियो । नेतृत्वमाथि प्रश्न गर्नेहरूलाई बोहरा समूहले रोक्ने र पेल्ने खेल चलाइरहेका थिए । बोहराको निर्देशनअनुसार नै बैठकमा समय नदिएर रोकिएको कार्की लगायतको प्रस्ताव अन्तिम समयमा पेस गर्न दिइएको थियो ।
बैठकमा सभापति लामिछानेको पक्षमा भएको हस्ताक्षर अभियानको प्रतिवेदन पेस गर्न पुगेका बोहराले पार्टीका अन्तरविरोध छताछुल्ल भएकाले मिडियालाई रोक्नसमेत माग गरे । लगत्तै महामन्त्री बुर्लाकोटीले आधिकारिक मिडियाबाहेक सबैलाई बाहिर जान भने ।
नेतृत्वमाथि पेचिलो प्रश्न स् आयातित कि स्थापित ?
बैठकको सबैभन्दा पेचिलो विषय बन्न पुग्यो, पार्टीको भावी नेतृत्व । कार्यवाहक सभापति अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीको मूल नेतृत्व नै आयात गर्न नसकिने भन्दै टिप्पणी गरेका थिए ।
उनको टिप्पणी पछिल्लो समय चर्चामा रहेको पार्टीभित्र कुलमान घिसिङजस्ता लोकप्रिय व्यक्तित्वलाई नेतृत्वमा ल्याउने विषयमा केन्द्रित थियो । प्रतिवेदनमा उनले सभापति लामिछानेकै नेतृत्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
‘पार्टी सुधार वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र प्रचारबाजी स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘अहिलेको नेतृत्वलाई विस्थापित होइन, स्थापित गर्ने समय हो ।’
जसले पार्टीभित्र नेतृत्व परिवर्तनको बहसलाई थप विवादित बनाएको देखिन्छ । यसले पार्टीभित्र नेतृत्वको विषयमा स्पष्ट दुई धार रहेको देखिन्छ । एकातर्फ वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने खेमा छ भने अर्कोतर्फ बाहिरबाट लोकप्रिय व्यक्ति ल्याएर पार्टीलाई थप विस्तार गर्नुपर्छ भन्ने विचारले पनि प्रश्रय पाइरहेको छ ।
आत्मसमीक्षा र आन्तरिक कमजोरीको स्विकारोक्ति
बैठकमा महामन्त्री बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनले पनि पार्टीभित्र आन्तरिक कमजोरी रहेको स्वीकार गरे । उनले पार्टीसंगठनको आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसकेको औँल्याए ।
‘हामी आफ्नै खुट्टामा अल्झिएनौँ भने, हामीलाई कसैले लडाउन सक्ने छैन,’ उनले भने, ‘यदि हामी लड्यौँ भने हामी आफ्नै खुट्टामा अल्झिएर लड्नेछौँ ।’
बैठकमा अर्यालले पार्टीभित्र अन्तरद्वन्द्व र खुट्टा तान्ने प्रवृत्ति हाबी हुन थालेको बताएका थिए । पार्टीका गतिविधि र नेता कार्यकर्ताका कार्यशैलीमाथि पार्टीका सदस्यहरूले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो । अर्यालले पार्टीमा ‘टिम’को भावनामा कमी भएको महसुस गर्दै नेता तथा कार्यकर्ताहरूलाई पहिला आफ्नो जिम्मेवारी बोध गर्न आग्रह गरे ।














