बागमती सरकारलाई स्थानीय तहको कर्मचारीको विवरण राख्ने अधिकार हस्तान्तरण

संवाददाता
२५ कार्तिक २०८२, सोमबार १५:३२

स्थानीय तहका कर्मचारीको विवरण राख्ने पूर्ण अधिकार बागमती प्रदेशलाई उपलब्ध गराइएको छ । राष्ट्रिय किताबखानाले प्रदेशमा कार्यरत कर्मचारीहरूको पर्सनल इन्फर्मेसन सिस्टम ९पिआइएस० सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिएको हो ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा आयोजना गरिएको कार्यक्रममा किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका सचिव बाबुराम गौतमबिच पिआइएस विवरण सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यसअघि किताबखानाले मात्र कर्मचारीहरूको पिआइएस विवरण रहेको पोर्टल सञ्चालन गर्दै आएकोमा सिस्टमलाई किताबखानाले बागमती प्रदेशलाई अधिकार प्रत्ययोजन गरेको हो । यसअघि प्रदेशलाई निजामती सेवाका कर्मचारीको पिआइएस विवरण सञ्चालनको पहुँच भए पनि स्थानीय तह र सेवाका कर्मचारीको पिआइएस विवरणको पोर्टल सञ्चालनमा पहुँच थिएन । किताबखानाले अधिकार दिएसँगै अब बागमती प्रदेश सरकारले आफ्नो प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत कर्मचारीको विवरणको पोर्टल सञ्चालन गर्न पाउने भएको हो ।

कर्मचारीहरू समायोजनपछि स्थानीय तहका कर्मचारीहरूको पिआइएस विवरणको पोर्टल सञ्चालनमा आफूहरूको समेत पहुँच हुुनुपर्ने प्रदेशहरूको माग रहँदै आएको थियो । तर, कानुन अभावका कारण यसअघि अधिकार दिन नसकिएकोमा ९ भदौ ०८२ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय नीतिगत निर्णय गर्दै प्रदेश सरकारहरूलाई समेत स्थानीय तहको पिआइएस विवरणको पोर्टल सञ्चालनको अधिकार दिने निर्णय गरेको थियो ।

समझदारीपत्रमा हस्ताक्षरपछि महानिर्देशक पोखरेलले सो काम सबै प्रदेशमा पुर्याउने लक्ष्य सहित अघि बढेको बताए । कर्मचारी समायोजन ऐन ०७५ मार्फत संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी बाँडफाँट गरिए पनि कर्मचारीहरूको पिआइएस विवरण रहेको पोर्टल सञ्चालनको जिम्मा बागमती प्रदेशहरूले पाएको महानिर्देशक पोखरेलले बताए ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालले पिआइएस विवरण रहेको पोर्टल सञ्चालनको जिम्मा प्रदेशहरूले पाएपछि आफूमातहतका प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरुको सरुवा, बढुवा, तलब भत्ता, पद, कुन जनशक्तिको एकिन तथ्यांक प्राप्त गर्न सहज हुने बताए । प्रदेश मातहत कर्मचारी कति छन्, कति कार्यरत छन्, बिदा, सरुवा, बढुवा लगायतका अन्य प्रशासनिक विवरणको जानकारी लिन कठिन भइरहेको अवस्थामा सिस्टम संचालनको जिम्मा प्राप्त गर्दा कार्यसम्पादन थप उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*