मकवानपुरका नर्सहरुको आन्दोलन, २ घण्टा सेवा बन्द

संवाददाता
१३ कार्तिक २०८२, बुधबार १३:०८

मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु आन्दोलित भएका छन् । समान काम र समान ज्यालाको माग गर्दै उनीहरुले बुधबारदेखि २ घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गरेका हुन् ।

नेपाल नर्सिङ संघको राष्ट्रव्यापी आन्दोलनको आह्वान अनुसार, नर्सहरुले आफ्ना मागहरू पूरा गराउन दबाब दिँदै बिहान १० बजेदेखि १२ बजेसम्म काम रोकेर विरोध प्रदर्शन गरेका हुन् । संघको पूर्वनिर्धारित कार्यक्रमअनुसार, यो आन्दोलनको दोस्रो चरण हो ।

यसअघि गत कात्तिक ४ गतेदेखि ११ गतेसम्म मकवानपुरका नर्सहरुले हेटौंडा अस्पताल लगायत जिल्लाका सबै स्वास्थ्य संस्थामा हातमा कालोपट्टी बाँधेर सेवा प्रदान गरेका थिए । माग सुनुवाइमा नभएपछि आन्दोलनलाई थप सशक्त बनाइएको नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालले बताइन् ।

उनका अनुसार कात्तिक १८ गतेसम्म हरेक दिन बिहान २ घण्टा सेवा बन्द गरिनेछ । नर्सहरुको आन्दोलन मुख्यतया निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको श्रम शोषण विरुद्ध केन्द्रित रहेको उनले बताइन् । निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्सहरुको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह हुनुपर्ने माग रहेको उनको भनाइ छ ।

सरकारले नर्सहरुको न्यूनतम तलब पाँचौं तह अनुसार ३४ हजार ७३० रुपैयाँ तोकेको भए तापनि धेरै निजी संस्थाहरुले अत्यन्तै न्यून पारिश्रमिकमा काम लगाइरहेको उनले गुनासो गरिन् । १८ गतेसम्म पनि माग सुनुवाई नभए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यदलको प्रतिवेदनअनुसार आन्दोलनका कार्यक्रम थप गर्ने पनि अध्यक्ष दाहालले बताइन् ।

गत कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ संघले पेश गरेको माग पूरा गर्ने सम्बन्धमा कार्यदल बनाएकाले अबको एक हप्ता प्रतिक्रिया कुरेको अध्यक्ष दाहालले स्पष्ट पारिन् । नेपाल नर्सिङ संघले गत कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न मागहरु राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गरिनुपर्ने, रात्रिकालीन वा सार्वजनिक वा चाडपर्व बिदाको दिनमा काम गरेबापत सरकारी, निजी तथा शिक्षण अस्पतालमा अतिरिक्त तथा जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, योग्यता र अनुभवको आधारमा स्तरवृद्धि तथा बढुवाको व्यवस्था हुनुपर्ने, ग्रेडको व्यवस्था हुनुपर्ने, औद्योगिक नर्सको व्यवस्था हुनुपर्ने लगायतका १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम सुरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*