मकवानपुर जिल्ला अदातलको सेवा पूर्ण रुपमा सुचारु

संवाददाता
१४ कार्तिक २०८२, बिहीबार १०:०२

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोर्डका कारण क्षती पुगेको मकवानपुर जिल्ला अदालत आज बिहीबारबाट पूर्ण रुपमा सुचारु भएको छ । यसअघि आंशिक रुपमा कार्यसम्पादन र सेवा प्रवाह गर्दै आएको मकवानपुर जिल्ला अदालतले आजबाट सम्पूर्ण सेवाहरु पूर्ण रुपमा संचालनमा ल्याएको हो ।

कात्तिक १० गतेबाट सर्वोच्च अदालतको सफ्टवेयर प्रणाली पुनःस्थापना भएपछि बुधबार जिल्ला अदालतको न्यायाधीशहरु सहितको पूर्ण बैठकले अदालतको सम्पूर्ण सेवा सुचारु गर्ने निर्णय गरेको हो । बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीशहरु गीता श्रेष्ठ, शकुन्तला कार्की, निर्मला शर्मा र पूर्णिमा कोइरालासहितको पूर्ण बैठकले मुद्दा तथा पेशी व्यवस्थापन, मुद्दा दर्तासहित यसअघि सञ्चालन भइरहेका तारेख दिने, बयान लिने, मुद्दा दर्ता, मुद्दा फिर्ता, मिलापत्र, प्रतिउत्तर दर्ता, प्यारोल निवेदन, रोक्का तथा फुकुवासम्बन्धी निवेदनहरु लगायतका सबै सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

जेन–जी आन्दोलनपछि डेढ महिनादेखि अदालतमा रोकिएका र ‘म्यानुअली’मात्र हुँदै आएका सबै काम बिहीबारदेखि सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) बाटै नियमित हुने जिल्ला अदालतका स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगजनीमा परेर सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) नष्ट भएको थियो ।

स्रेस्तेदार कौशिकका अनुसार सर्वोच्च अदालतको सो सर्भर सुचारु भएसँगै देशभरका सबै अदालतहरु पूर्ण सुचारु भएका छन् । उक्त प्रणाली पुनःस्थापना भएपछि सबै अदालतका डाटाहरु सुरक्षित तवरले रिकभर भएकाले अब आन्दोलनअघिकै लयमा सबै सेवा दिन सकिने उनले बताए ।
जेन–जी आन्दोलनपछि सेवा ठप्प भएको जिल्ला अदालत मकवानपुरमा भदौ मसान्तदेखि थुनुवा म्याद थप, जरुरी पक्राउ पुर्जी, पक्राउ अनुमति, प्रहरीद्वारा पक्राउ भइसकेकाहरुको बयान तथा थुनछेक आदेशजस्ता विशेष सेवामात्र सुचारु गरिएको थियो । असोज २१ गते नियमित मुद्दा पेशीबाहेक अन्य सेवा थप गरी १३ प्रकारका सेवा विस्तार गरिएको थियो । आगजनीमा परेर अदालतका ७ वटा चालु मिसिल र ५ सय ३४ वटा अभिलेख मिसिल जलेर नष्ट भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*