यातायात कार्यालयको सेवालाई विस्तार र एकीकृत गर्दै बागमती सरकार
बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई सहज र एकीकृत बनाउने तयारी थालेको छ । प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारीसाधन सम्बन्धी सेवा प्रवाहलाई सरल बनाउन सेवा विस्तार सहित एकीकृत गर्ने तर्फ अग्रसर भएको हो ।
सेवा विस्तारसँगै ती कार्यालयहरू सवारी दर्ता, नवीकरण, नामसारी लगायत सवारी चालक अनुमति पत्र वितरण तथा नवीकरणको काम समेत अघि बढाउने उनले बताए ।
कोटेश्वर र बालाजुमा स्थापना हुने नयाँ कार्यालयहरूले आफ्नै ट्रायल सेन्टर सञ्चालन गर्नेछन् । यसका लागि आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइने उनले बताए ।
ट्रायल सेन्टरको टेण्डरको काम सम्बन्धित कार्यालयले नै गर्ने उनले बताए । हाल उपत्यकामा सीमित ट्रायल सेन्टर हुँदा परेको अत्यधिक चापलाई यसले घटाउने र सेवाग्राहीले सहज रूपमा प्रयोगात्मक परीक्षा (ट्रायल) दिन सक्ने उनले बताए ।
उता काभ्रेको बनेपामा स्थापना भएको यातायात व्यवस्था कार्यालयले पनि आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ । तत्कालीन मन्त्री लक्ष्मण लम्सालको जोडबलमा स्थापना गरिएको उक्त कार्यालयले सवारी र लाइसेन्सको काम गर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।
२०८१ साल जेठ/असारबाट सञ्चालनमा आएको यो कार्यालयले सुरुमा सवारी सम्बन्धी सेवा दिएकोमा अब छिट्टै लाइसेन्स सम्बन्धी सेवा पनि सुरु गर्ने उनले बताए । बनेपामा समेत ट्रायल सेन्टर सञ्चालनका लागि सूचना प्रकाशनको प्रक्रिया अघि बढेको उनले बताए ।
किन आवश्यक थियो ?
बागमती प्रदेश सरकारका अनुसार, काठमाडौँ उपत्यकामा बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापले गर्दा हालका यातायात कार्यालयहरूमा सेवाग्राहीको अत्यधिक भिडभाड हुने गरेको छ । एउटै कामका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न, सेवालाई विकेन्द्रित गरी नागरिकको पहुँचमा पुर्याउन र समग्र यातायात व्यवस्थालाई सुधार्न उक्त निर्णय अघि बढाइएको श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव विरेद्रदेव भारतीले जानकारी दिए ।
प्रदेश सरकारले गत वर्ष नै निर्णय गरेता पनि बजेट तथा प्रक्रियागत कारणले कार्यान्वयनमा केही ढिलाइ भएको उनले बताए । सचिव भारतीका अनुसार, बनेपामा एक वर्षअघि नै स्थापना भएको यातायात कार्यालयलाई लाइसेन्स जारी गर्ने अधिकार भए पनि ट्रायल सेन्टर नहुँदा सेवा पूर्ण हुन सकेको थिएन । अब बनेपाभित्रै ट्रायल सेन्टर स्थापना गरी सेवालाई एकीकृत गर्न लागिएको हो । कुनै नयाँ सरकारी कार्यालय नथपिएको र भएकै कार्यालयको कार्यक्षेत्र र सेवा प्रवाहलाई व्यवस्थित मात्र गर्न लागिएको उनले बताए ।
‘कार्यालय खोलिसकेपछि त्यसले प्रदान गर्नुपर्ने सेवाका लागि आवश्यक पूर्वाधार दिनु हाम्रो दायित्व हो । बनेपा कार्यालयले अब आफ्नै क्षेत्रमा ट्रायल सञ्चालन गर्नेछ । हाल ४ स्थानबाट मात्रै ट्रायल सेवा दिइरहेकोमा अब ६ स्थान पुगेपछि सेवाग्राहीको चाप स्वाभाविक रूपमा घट्नेछ र सेवा सहज हुनेछ ।’ उनले भने, ‘हामीले नयाँ सरकारी कार्यालय थपेका छैनौँ। बनेपाको पुरानै कार्यालयमा ट्रायल सेन्टरको सुविधा थप्ने र सल्लाघारीको कार्यालयलाई जगातीमा सार्ने मात्र हो । यसले हाल भएकै कर्मचारी र जनशक्तिबाट काम हुने हुँदा कुनै अतिरिक्त प्रशासनिक खर्च बढ्दैन ।’
उनले यो निर्णय आवश्यकताको आधारमा प्रदेश सरकारले गरेको र यसको मुख्य उद्देश्य आम सेवाग्राहीलाई नजिकको स्थानबाट छिटो र सहज सेवा दिनु रहेको बताए । त्यसका लागि ट्रायल सेन्टरको ठेक्का प्रक्रिया सम्बन्धित कार्यालयले नै पारदर्शी रूपमा अघि बढाउने र यसमा मन्त्रालयले निष्पक्षताका लागि अनुगमन गर्ने उनले बताए ।














