गौरीटार रंगशाला : १६ वर्षपछि जागेको आशा, क्रिकेट र पौडी पोखरी निर्माणले फेरिँदै मुहार

संवाददाता
१२ आश्विन २०८२, आईतवार १५:१४

गौरीटार अन्तर्राष्ट्रिय रंगशालाले १६ वर्षपछि अन्ततः गति लिन थालेको छ । हेटौंडास्थित उक्त रंगशाला कुनै समय भव्य समारोहका बीच शिलान्यास भएर पनि गुमनाम बनेको थियो ।

राष्ट्रिय खेलाडीहरूका लागि आवासीय सुविधासहितको अत्याधुनिक प्रशिक्षण केन्द्र बनाउने सपना बोकेको उक्त रंगशाला निर्माण आयोजना वर्षौंसम्म बजेट अभाव र बेवास्ताको सिकार बनेको थियो । तर, हाल बागमती प्रदेश सरकारले यसलाई ुगौरवको आयोजनाुका रूपमा अघि बढाएसँगै क्रिकेट मैदान र पौडी पोखरीको निर्माण कार्यले तीव्रता पाएको छ । जसले खेलकुद क्षेत्रमा नयाँ आशा जगाएको देखिन्छ ।

२०६६ जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गर्दा ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त रंगशालाको निर्माणमा २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, लामो समयसम्म बजेटको निरन्तरता नहुँदा र निर्माण व्यवसायीको सुस्तताले आयोजना कछुवाको गतिमा रह्यो । सुरुका ८ वर्षमा केवल ५ करोड रुपैयाँ बजेट पाएको उक्त आयोजना सरकारी उदासीनताले ओझेलमा पर्दै आएको थियो ।

संघीयता लागू भएपछि त झन् संघ र प्रदेशको स्वामित्व विवादमा फसेर यो आयोजना ४ वर्ष बेवारिसे बन्यो । २०७६ सालमा बागमती प्रदेश सरकारले स्वामित्व लिएपछि यो अलपत्र आयोजनाले पुनर्जीवन पाएको छ । प्रदेशले यसलाई ‘गौरवको आयोजना’मा समावेश गरी चरणबद्ध रूपमा काम अघि बढाएको छ ।

सुरुमा फुटबल मैदान र प्यारापिट निर्माणमा ध्यान केन्द्रित गरिएको रंगशालामा हाल फुटबल मैदानको प्यारापिट निर्माण कार्य लगभग सम्पन्न भएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए । केही व्यवस्थापनको काम बाँकी रहेको र फुटबल मैदान संरक्षणको काम भइरहेको पनि उनले बताए ।

सदस्य सचिव लामाका अनुसार हाल रंगशाला परिसरमा क्रिकेट र पौडी पोखरीको निर्माणले प्रदेश सरकारको खेलकुदप्रतिको प्राथमिकतालाई थप उजागर गरेको छ । प्रदेश खेलकुद विकास परिषद्मार्फत दुवै संरचना सम्पन्न भइसकेको र मैदानमा बरमुण्डा दुबो लगाउने तथा संरक्षण गर्ने काम भइरहेको उनले स्पष्ट पारे ।

रंगशालामा ३२ करोड ५३ लाखको विस्तृत डीपीआर रहेकोमा हाल पहिलो चरणमा ६ करोड १ लाख ७५ हजारको लागतमा अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी निर्माण सम्पन्न भइसकेको छ । २०८० चैत ३० गते ‘पीएमरएचकेसीरकेबीए जेभी’ सँग भएको सम्झौताअनुसार १५ महिनाभित्र ४०० दर्शक क्षमताको भीआईपी ब्लक, ५० मिटर लामो मुख्य प्रतिस्पर्धा पोखरी र २५ मिटरको तालिम पोखरी निर्माण गरिएको छ ।

रंगशालाभित्रै ७१ करोड १९ लाखको विस्तृत डीपीआर रहेको क्रिकेट मैदान निर्माणले प्रदेशको खेलकुद क्षेत्रको विकासमा थप टेवा पुग्ने सदस्य सचिव लामाले औंल्याए ।

एसएनएस/पीएल/एचकेसी जेभीले ९ करोड ४२ लाख ८२ हजारमा ठेक्का लिएर निर्माण गरेको उक्त मैदानमा ६०० दर्शक क्षमताको प्यारापिट, ५ वटा पिच, १४० मिटर व्यासको मैदान, खेलाडी चेन्जिङ रुम र भूमिगत ड्रेनेजसहितको संरचना निर्माण गरिएको छ । यस मैदानमा मिडिया कक्ष, स्कोर बोर्ड, पार्किङलगायतका आधुनिक सुविधाहरू हुनेछन् ।

कुल २ अर्ब ४२ करोड ६४ लाखको विस्तृत डीपीआर रहेको गौरीटार रंगशालामा फुटबल, क्रिकेट र पौडीका अतिरिक्त तेक्वान्दो, कराते, बक्सिङ, बास्केटबल, लन टेनिसलगायतका खेलका लागि छुट्टाछुट्टै संरचना, प्रशासनिक भवन र खेलाडी छात्रावाससमेत निर्माण गर्ने योजना छ । वर्षौंदेखि जीर्ण बनेको होस्टल भवनमा हाल युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्को कार्यालय सञ्चालनमा छ ।

लामो समयको प्रतीक्षा र अनिश्चिततापछि प्रदेश सरकारको निरन्तर लगानी र अनुगमनले गौरीटार रंगशाला निर्माणले लय समातेको सदस्य सचिव लामाले उल्लेख गरे । यो आयोजना सम्पन्न हुँदा मकवानपुर मात्र नभई समग्र बागमती प्रदेशकै खेलकुद पूर्वाधारमा कोशेढुंगा साबित हुने विश्वास लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*