उद्धार, राहत र सडक खुलाउन बागमतीको ‘युनिफाइड कमाण्ड टिम’ एकीकृत प्रयासमा
विपद् व्यवस्थापनका लागि असोज १८ गते दिउँसो बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्देशनमा गठन गरिएको एकीकृत संयन्त्र ‘युनिफाइड कमाण्ड टिम’ले उद्धार, राहत र सडक खुलाउने काममा सक्रियता बढाएको छ ।
संयोजक मन्त्री अधिकारीका अनुसार सो समितिको जिम्मेवारी अनुसार विपद् व्यवस्थापनका लागि एउटा मात्र बैठक बसेको र सो बैठकले आवश्यक सामग्री र स्रोत उपलब्ध गराउने निर्णय गरेको थियो । विपद्को समयमा छरिएर काम गर्नुभन्दा एकै ठाउँबाट समन्वयात्मक निर्णय लिनु प्रभावकारी हुने निष्कर्षसहित गठन भएको समितिले प्रभावकारी काम गरेको उनको दाबी छ ।
‘हामी अहिले सबै जिल्ला र स्थानीय तहबाट रिपोर्ट लिइरहेका छौँ । पूर्ण रिपोर्ट प्राप्त भएपछि कहाँ–कहाँ के–कस्तो सहयोग आवश्यक छ भन्ने पहिचान गरी मन्त्रिपरिषद्को बैठकबाट आवश्यक निर्णय लिन्छौँ,’ उनले भने, ‘सम्भावित घटनालाई ध्यानमा राखेर हामीले राहतका लागि आवश्यक पाल लगायतका सामग्री सबै सुरक्षा निकाय र स्थानीय तहसम्म पहिले नै पठाइसकेका थियौँ ।’
घटनालगत्तै तत्काल परिचालन हुन सकियोस् भनेर नेपाल प्रहरी, सेना र स्थानीय निकायलाई तयारी अवस्थामा राखिएको र संघीय सरकारको निर्देशन पनि कडाइका साथ पालना गर्न लगाइएको मन्त्री अधिकारीले बताए ।
कुलेखानी सडक ‘लाइफलाइन’का रूपमा सञ्चालनमा
विपदपछिको सबैभन्दा ठुलो चुनौती भनेकै अवरुद्ध सडक सञ्जाल खुलाउनु थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा क्षतिको तथ्याङ्क सङ्कलनभन्दा पनि फिल्डमा खटिएर काम गर्नु महत्त्वपूर्ण रहेको बताउँछन् ।
मन्त्रालयले प्रदेशका १३ जिल्लाकै पूर्वाधार विकास कार्यालयका टिमलाई पूर्ण रूपमा परिचालन गरेको उनले बताए । उनका अनुसार, हाल प्रदेशभरि ४० वटाभन्दा बढी उपकरण सडक खुलाउन प्रयोग भइरहेका छन् । मुख्य राजमार्ग र ठुला सडकमा यातायात सुचारु भइसकेको र अब स्थानीय तहको केन्द्र जोड्ने सहायक सडक खुलाउन ध्यान केन्द्रित गरिएको उनले बताए ।
भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटाले काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग सिस्नेरी र फाखेल सञ्चालनमा ल्याइएको बताए । ‘यी दुई मार्ग अहिले राष्ट्रिय जीवनरेखा (लाइफलाइन) बनेका छन् । पूर्व र पश्चिमबाट आउने सवारीसाधनहरू समेत यही बाटो भएर आवतजावत गरिरहेका छन्,’ उनले भने ।
मातातीर्थतर्फको अवरुद्ध सडक पनि खुल्ने क्रममा रहेको मन्त्री देवकोटाको भनाइ छ । ललितपुरको गोदावरी क्षेत्र र धादिङको रुबी भ्याली जाने बाटोमा पहिरोले बढी क्षति पु¥याएको जनाउँदै उनले बाढी–पहिरोका कारण अवरुद्ध रसुवा, सिन्धुपाल्चोक र दोलखाका केही ग्रामीण सडक व्यवस्थापनमा काम भइरहेको जानकारी दिए ।














