विपद् व्यवस्थापनमा बागमती सरकारः ५ करोड ४० लाख बजेट निकासा
बागमती प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा दिएको छ । प्रदेश सरकारले गत असोज १८ र १९ गतेको वर्षाका कारण उत्पन्न विपद्को व्यवस्थापनलाई लक्षित गरेर स्थानीय तहहरूलाई सो बजेट उपलब्ध गराएको हो ।
मनसुनजन्य विपद्का घटनाहरूको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रदेश सरकारले विभिन्न मन्त्रालय र सुरक्षा निकाय सम्मिलित युनिफाइड टिम गठन गरेर प्रतिकार्यलाई प्रभावकारी बनाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मुख्यमन्त्रीको अध्यक्षतामा बसेको उक्त युनिफाइड टिमको बैठकले खोज, उद्धार तथा राहतका लागि तत्काल आवश्यक कार्य गर्न दिएको निर्देशन दिएको अनुसार विपद् व्यवस्थापनका लागि उपत्यका बाहेकका १० जिल्लामा नेपाल प्रहरीबाट करिब १ हजार र सशस्त्र प्रहरीबाट ४०० जना जनशक्ति परिचालन गरिएको थियो ।
मन्त्रालयका विपद् व्यवस्थापन माहाशाखा प्रमुख सुरेश खनालका अनुसार प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकको निर्णय अनुसार २१ वटा स्थानीय तहलाई पूर्वतयारीका लागि २ करोड १० लाख र जोखिमयुक्त क्षेत्र संरक्षणका लागि १६ वटा स्थानीय तहलाई २ करोड ६५ लाख रुपैयाँ प्रदान गर्ने गरेको हो ।
द्रुत प्रतिकार्यका लागि प्रत्येक जिल्ला विपद् व्यवस्थापन समितिलाई ५ लाखका दरले ६५ लाख रुपैयाँ उपलब्ध गराइएको उनले बताए । मनसुन पूर्वतयारीकै क्रममा प्रदेशका १६ वटा पालिकाहरूमा विपद् उद्धार सामग्रीसहितको गोदामघरको व्यवस्था गरिएको उनको भनाइ छ ।
असोज १८ मा विपद्का ३५ घटना, काभ्रेमा १ को मृत्यु
असोज १८ गतेको भारी वर्षाका कारण प्रदेशमा ३५ वटा विपद्का घटना भएका छन् । मन्त्रालयको विवरण अनुसार उक्त घटनाहरूबाट १६२ परिवार प्रभावित भएको महाशाखा प्रमुख खनालले बताए ।
काभ्रेमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने रसुवामा बाढीका कारण ४ जना बेपत्ता भएका छन् । ललितपुरमा पहिरोमा परी २ जना र मकवानपुरमा चट्याङ लागेर १ जना घाइते भएका छन् । विपद्का कारण अनुमानित ४ लाख ५० हजार बराबरको आर्थिक क्षति भएको उनले बताए ।
मनसुनी वर्षाका कारण अवरुद्ध भएका सिस्नेरी, हुमाने लगायतका प्रादेशिक सडकहरूमा गएको पहिरो पन्छाई २४ घण्टाभित्रै सडक पुनः सञ्चालनमा ल्याइएको छ । काभ्रेको बेथानचोक, खानिखोला, महाभारत र रोशी गाउँपालिकाका सडकहरू सुचारु गर्न स्थानीय तह र निर्माण व्यवसायीसँग समन्वय भइरहेको महाशाखा प्रमुख खनालले बताए ।
त्यस्तै, ललितपुरमा एकतर्फी सडक खुलाउने प्रयास जारी छ भने रामेछापमा सडक सुचारु भइसकेको उनले बताए । मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा नौविसे–हेटौंडा तथा फर्पिङ–हेटौंडा सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाइएको उनले बताए ।
पहिरो पन्छाएर १०३ आपतकालीन यात्रुको उद्धार
अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने सडक खण्ड सहित प्रदेशका १० जिल्लाका विभिन्न स्थानबाट १०३ जनाको उद्धार गरिएको थियो । असोज १८ को वर्षाका कारण पहिरोले अवरुद्ध सडक, आकस्मिक अन्तर्राष्ट्रिय उडानमा जानुपर्ने १०३ नागरिक तथा पर्यटकलाई उच्च जोखिमका बिच उद्धार गरी गन्तव्यमा पठाइएको यातायात निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
निर्देशनालय अन्तर्गतको द्रुत प्रतिकार्य टोलीले असोज १८ गते राति १० बजे महालक्ष्मी खोलामा खसेको पहिरो हेभी इक्विपमेन्टको सहायताले पन्छाएर १५ वटा सवारी साधनलाई सुरक्षित रूपमा काठमाडौँ पठाएको यातायात निर्देशनालय बागमती प्रदेशका निर्देशक इन्जिनियर नविन सिंहले बताए । लगातारको वर्षाले विभिन्न स्थानमा पहिरो खसेपछि सरकारले भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने छोटा दूरीका सडकमा सवारी आवागमन बन्द गरेको अवस्थामा उडान छुट्ने आपत्कालीन अवस्थामा रहेका यात्रुहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै पूर्वाधार विकास कार्यालय, मकवानपुरको टोलीले विशेष व्यवस्था गरी पहिरो हटाउँदै उनीहरूलाई गन्तव्यमा पुर्याएको उनले बताए ।
असोज १९ गते बिहान मौसममा सुधार आएसँगै पूर्वाधार विकास कार्यालय, मकवानपुरको टोलीले भैँसे– भीमफेदी– कुलेखानी– फाखेल– हुमाने सडक खण्डको क्षति मूल्यांकन, जोखिम पहिचान तथा पहिरो पन्छाएको उनले बताए । भैँसे– भीमफेदी– कुलेखानी–सिस्नेरी फर्पिङ सडक खण्डमा डेडिकेटेड हेभी इक्विपमेन्ट परिचालन गरी सडक सुचारु गरिएको उनले बताए ।
प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनामार्फत मर्मतसम्भार सम्पन्न सिस्नेरी– दक्षिणकाली– फर्पिङ सडक र फाखेल–चखेल–देउराली–मातातीर्थ–सतुंगल सडक पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको उनको भनाई छ ।














