बागमती प्रदेश सभामुखमा दाबी गर्ने कांग्रेस संसदीय दलको निर्णय

संवाददाता
२४ आश्विन २०८२, शुक्रबार २०:५७

नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेश सभाको सभामुख पदमा दाबी गर्ने भएको छ ।

प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकारी निवासमा बसेको संसदीय दलको बैठकले प्रदेश सभामा रिक्त रहेको सभामुख पदमा दाबी गर्ने निर्णय गरेको हो ।

दलका नेता बानियाँको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनदेखि सभामुख चयनसम्बन्धी विषयमा महत्त्वपूर्ण निर्णय गरेको संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

हालै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ । सभामुख पाठकले गत २३ भदौमा जेनजी आन्दोलन उत्कर्षमा पुगेका वेला पदबाट राजीनामा दिने घोषणा गरेका थिए । उनले लगत्तै १ असोजमा उपसभामुख अप्सरा चापागाईँसमक्ष राजीनामा बुझाएका थिए ।
यद्यपि, उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । तिहार अघि बस्ने प्रदेश सभा बैठकले सभामुखको राजीनामा स्वीकृत गर्ने तयारी भइरहेको छ ।
यस्तै सचिव महर्जनका अनुसार बैठकले हालैको मनसुनजन्य विपद् व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरी राहत र पुनःस्थापना कार्य तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ । बैठकमा आगामी पूरक बजेटका विषयमा दलभित्र थप छलफल गरी साझा धारणा बनाउने सहमति भएको पनि सचिव महर्जनले बताए ।

बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा समावेश भएको १० लाख रुपैयाँ मुनिका योजनाहरू उपभोक्ता समितिबाट कार्यान्वयन गर्ने र १० लाख रुपैयाँ माथिका योजना टेण्डर मार्फत गर्ने निर्णय गरेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*