मकवानपुरमा मतदाता नामावली दर्तामा युवाको उत्साह

संवाददाता
२८ आश्विन २०८२, मंगलवार १०:४७

आगामी फागुन २१ कालागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा मतदाता नामावली सङ्कलन अभियान तीव्र बनेको छ । हालसम्म ८०० भन्दा बढी नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराइसकेका छन् ।

प्रदेश निर्वाचन कार्यालय, हेटौंडाका निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार सोमबारसम्म मकवानपुरमा ८३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । सोमबारमात्रै १६८ जनाले आफ्नो विवरण दर्ता गराएको उनले जानकारी दिए । उनका अनुसार दर्ता गराउनेमा अधिकांश २५ वर्ष मुनिका युवायुवती छन् ।

‘शैक्षिक संस्थाहरूमा बिदा भएको समयमा उमेर पुगेका विद्यार्थीहरू फुर्सदको सदुपयोग गर्दै मतदाता नामावली दर्तामा सक्रिय सहभागी भइरहेका छन्,’ निर्वाचन अधिकृत ढकालले भने । उनका अनुसार नयाँ नाम दर्तासँगै पुराना विवरण सच्याउने, व्यक्तिगत विवरण अद्यावधिक गर्ने र स्थान परिवर्तनका कार्य पनि एकैसाथ भइरहेको छ ।

निर्वाचन कार्यालयले यसपालिबाट अनलाइन प्रणाली पनि सुरु गरेकाले मतदाता नामावली दर्ता प्रक्रिया थप सहज बनेको निर्वाचन अधिकृत ढकालको भनाइ छ ।

‘नागरिकले घरमै बसेर अनलाइन फारम भरेर नाम दर्ता प्रक्रिया सुरु गर्न सक्छन्, तर अन्तिम चरणमा स्थानीय निर्वाचन कार्यालयमा पुगेर फोटो खिचाउने र बायोमेट्रिक गर्नुपर्ने हुन्छ,’ उनले स्पष्ट पारे ।

ढकालका अनुसार अब मतदाता नामावली दर्ता गर्न आफ्नै गृह जिल्ला पुग्नुपर्ने बाध्यता छैन, जसले गर्दा आफ्नो बसोबास क्षेत्र नजिकको निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।

निर्वाचन अधिकृत ढकालले आगामी कात्तिक ३० गतेसम्म दर्ताको समयसीमा तोकिएको जानकारी दिँदै योग्य नागरिक सबैलाई निर्धारित अवधिभित्र आफ्नो नाम दर्ता गराइसक्न आग्रह पनि गरे ।

२०७९ मंसिरमा सम्पन्न अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरमा दुई वटा संघीय निर्वाचन क्षेत्र थिए । त्यतिवेला जिल्लाभर कुल मतदाताको संख्या दुईलाख ९४ हजार ९१९ रहेको थियो । तीमध्ये महिला मतदाताको संख्या एकलाख ४४ हजार ९५९, पुरुष मतदाताको संख्या १ लाख ४९ हजार ९५४ र अन्य मतदाताको संख्या ६ जना थियो ।

हाल सरकारद्वारा संशोधित मतदाता नामावली ऐन अनुसार अब निर्वाचन घोषणा भइसकेपछि पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यस अनुसार १८ वर्ष उमेर पूरा गरेका सबै नागरिकले निर्वाचनअघि आगामी कार्तिक ३० गतेसम्ममा आफ्नो नाम दर्ता गराउन पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*