बागमती: भौतिक पूर्वाधार मन्त्रालयको साढे ५ करोड बराबर क्षति
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भयो।
आगलागीबाट मन्त्रालयका विभिन्न कार्यालयमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ, जसमा ४० वटा सवारी साधन पनि जलेका छन्।
मन्त्रालयले तत्कालका लागि मकवानपुरको सहरी विकास तथा भवन कार्यालयबाट काम थाल्ने तयारी गरेको छ र क्षति विवरण संकलनका लागि समिति गठन गरेको छ।
हेटौँडा । जेनजी आन्दोलनको क्रममा बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय जलेर नष्ट भयो ।
यस मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा साढे ५ करोड रुपैयाँको प्रारम्भिक क्षति भएको देखिएको छ ।

हेटौंडा–१ स्थित चौकीटोल आरालोमा रहेको मन्त्रालयका प्रवक्ता भुपेन्द्र कुमार यादवका अनुसार आगलागीका कारण मन्त्रालयका चार वटा कोठाबाहेक सबै जलेका छन् ।
एउटै भवनमा रहेका चार मन्त्रालय जलेर नष्ट भए । यसै भवनको दोस्रो तलामाथि रहेको भौतिक मन्त्रालय पनि जलेर नष्ट भएको उनले बताए । भुइँतलाको आधार तथा पहिलो र दोस्रो तलामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकांश कोठा र कागजात खरानी छन् । मन्त्रालयको दक्षिणतर्फको दुई र पूर्वतर्फको एउटा कोठामा मात्र जोगिएको उनले जानकारी दिए ।
उनका अनुसार पूर्वाधार मन्त्रालयसहित पूर्वाधार कार्यालय चितवन, सहरी विकास तथा भवन कार्यालय मकवानपुर, पूर्वाधार विकास कार्यालय ललितपुर र प्रदेश राजधानी पूर्वाधार विकास विषेश आयोजना हेटौँडामा पनि क्षति पुगेको छ ।

मन्त्रालय, चितवन, मकवानपुर, ललितपुरको कार्यालय तोडफोडसहित जलाइएका छन् । आन्दोलनका क्रममा मन्त्रालयका ४० वटा सवारीसाधन पनि जलेर खरानी भएका छन् । जसमा पाँच वटा चारपांग्रे सवारी छन् भने ३५ वटा सरकारी तथा निजी मोटरसाइकल, स्कुटरहरू रहेका यादवले बताए ।
मकवानपुरको सहरी विकास कार्यालयबाट काम थालिने
पूर्वाधार मन्त्रालयले तत्काललाई अस्थायी रूपमा मकवानपुरको सहरी विकास तथा भवन कार्यालयबाट काम थाल्ने तयारी गरेको छ । सोहीअनुसार सचिव ईश्वरचन्द्र मरहठ्ठाको नेतृत्वमा कार्यालय व्यवस्थापनको काम धमाधम भइरहेको छ ।

सचिव मरहठ्ठाका अनुसार अस्थायी रूपमा सहरी विकास तथा भवन कार्यालयको निर्माणाधीन कार्यालयको एउटा भवनबाट सेवा प्रारम्भ हुनेछ । उक्त भवनमा पनि आन्दोलनका क्रममा तोडफोड भएकाले हाल त्यसको व्यवस्थापनको काम भइरहको उनले बताए ।
सोमबारबाटै उक्त भवन मर्मतको काम थाल्ने र तत्काल सेवा सुचारु गर्ने तयारीमा मन्त्रालय छ । हाल मन्त्रालयमा क्षति हुनबाट जोगिएका फर्निचर तथा काजगातहरू ल्याएर व्यवस्थापनको काम भइरहेको उनले बताए । कर्मचारीहरूका लागि आवश्यक कक्षहरू व्यवस्थापन गर्न र उपकरणहरू ल्याइँदै गरिएको सचिव मरहठ्ठाले बताए ।
क्षति विवरण संकलन तथा भवन जाँचका लागि समित गठन
मन्त्रालयले प्रादेशिक कार्यालयहरूको क्षति विवरण संकलन तथा भवनको मापदण्ड निर्धारणका लागि एक समिति गठन गरेर काम थालेको छ । मन्त्रालयअन्तर्गत कार्यालयहरू सदस्य रहने गरी प्रदेशका १३ जिल्लाका प्रादेशिक कार्यालयहरूको क्षति मूल्यांकन तथा मापदण्ड जाँचका लागि समिति गठन गरिएको प्रवक्ता यादवले बताए ।

उनका अनुसार यस समितिमा विज्ञ समूहका दुई सदस्य रहने व्यवस्था छ । प्रदेशमा रहेका स्रोत साधनको अधिकतम उपभोग गर्ने र अतिआवश्यक अवस्थामा मात्र विज्ञ तथा अन्य स्रोतबाट सहयोग लिने गरी सो समितिले अध्ययन थालेको उनले बताए । समितिको सदस्यमा मन्त्रालयको आवास तथा भवन पूर्वाधार महाशाखाका प्रमुख रहने समे व्यवस्था रहेको छ ।
उक्त समितिले १३ जिल्लाका प्रादेशिक कार्यालयहरूको पूर्वाधार तर्फको क्षति संकलन गरेर भवनहरू बस्न वा प्रयोग गर्न अनुकूल भएरनभएको जाँचसहित प्रतिवेदन तयार गर्नेछ । समितिको प्रतिवेदन आगामी ७ दिनमा पेस गर्ने गरी निर्देशन गरिएको छ भने उक्त प्रतिवेदनका आधारमा प्रदेश सचिवस्तरीय बैठकले माग गरेअनुसार प्रतिवेदन तयार गरी पुनर्निर्माणका लागि पेस हुनेछ ।














