तलब भत्ताबाट विपन्न परिवारको घर बनाउँदै मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट २ जना विपन्न परिवारको घर बनाइदिने भएका छन् ।
दसैँ अघि नै सम्पन्न गर्ने गरी मुख्यमन्त्री बानियाँले २ घर निर्माणको लागि सम्झौता गरेका छन् । बुधबार मात्र मुख्यमन्त्री बानियाँले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ का एक चेपाङको घर बनाउन सम्झौता गरेका छन् ।
अति विपन्न सुमनसिंह चेपाङको घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले आफ्नो तलबबाट रकम उपलब्ध गराएका हुन् ।
निजी खर्चमा सीमान्तकृत परिवारको घर निर्माण गर्ने घोषणा गरेका मुख्यमन्त्री बानियाँले सुमनसिंह चेपाङको घर बनाउन २ लाख रुपैयाँ रकम निर्माण प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।
राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले आफ्नो तलब भत्ताबाट घर बनाउन रकम उपलब्ध गराएका हुन् । चेपाङ समुदायका सुमनसिंह वर्षौँदेखि झोपडीमा कष्टकर जीवन बिताउँदै आएका थिए । केही समयअघि मात्र सुमन सिंहकी श्रीमती सुत्केरी भएकी र सोही झुपडीमा बस्न बाध्य रहेकी थिइन् ।
यसअघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकाकी एकल दलित महिलाको लागि पनि घर बनाउने गरी सम्झौता गरेका थिए ।
गत भदौ ९ गते मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ कि विपन्न दलित एकल महिलाको मिठुमाया सुनारको घर निर्माणका लागि सम्झौता गरेका थिए ।
मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेर मिठुमाया सुनारको घर बनाउने काम थाल्न निर्देशन दिएका थिए ।
मुख्यमन्त्रीको सेवा सुविधाबाट प्राप्त हुने रकमबाट आफ्नो क्षेत्रका विपन्नको घर बनाइदिने यसअघि नै घोषणा गरेका बानियाँले आफूले पाउने सेवा सुविधाबाट खर्च हुने गरी एकल महिला मिठुमाया र सुमन सिंहको घर निर्माण गर्न रकम खर्च गरेका हुन् ।
सो रकमबाट मिठुमाया र सुमन सिंहले २ वटा कोठा, एउटा भान्छासहित घर र ट्वाइलेट बाथरुम निर्माण गरिने छ । मुख्यमन्त्री बानियाँका अनुसार पहिलो चरणमा पेस्की स्वरूप दुवै घर बनाउन २र२ लाख रुपैयाँ उपलब्ध गराएको र थप रकम क्रमशः उपलब्ध गराइने छ ।
एउटा घरका लागि न्यूनतम ५ लाख रुपैयाँसम्म खर्च हुने अनुमान रहेको र सोही अनुसार काम गर्न निर्देशन दिइएको उनले बताए ।
घर निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको र यसले चाँडै नै पूर्णता पाउने उने विश्वास व्यक्त गरे । उक्त घर दसैँ अघि नै सम्पन्न गर्ने निर्देशन दिइएको उनको भनाई छ ।














