बागमती प्रदेश राष्ट्रपतिको रनिङ शिल्ड प्रतियोगिता सुरु

संवाददाता
१८ जेष्ठ २०८२, शनिबार १७:३५

बागमती प्रदेशस्तरीय राष्ट्रपतिको रनिङ शिल्ड प्रतियोगिता शुक्रबार दोलखाबाट औपचारिक रूपमा सुरु गरिएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनप्रतिनिधिहरू नागरिकप्रति जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिए।

उनले संघीयतापछिको विकास र नागरिक सेवा सन्तुलनमा सरकारका नीतिहरूको समीक्षा आवश्यक रहेको बताए। “सत्ता विकेन्द्रीकरण, कानुनी सुधार र व्यवहारिक सेवा पु-याउन प्रतिनिधिहरूले गम्भीरता देखाउनुपर्छ,” सिटौलाले भने।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै बजेट दोब्बर बनाउने योजना ल्याएको जानकारी दिए।

उनले ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्दै युवालाई आर्थिक उपार्जनसँग जोडिने कार्यक्रमहरू अगाडि बढाइएको बताए।

प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमतीलाई खेलकुदको केन्द्र बनाउने योजनाअनुसार गुणस्तरीय संरचना निर्माणमा जोड दिइएको बताए।

“खेलकुदको हबका रूपमा बागमती प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार संरचना निर्माण हुनेछ,” मन्त्री महर्जनले स्पष्ट पारे।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार प्रतियोगिता जेठ १९ गतेसम्म सञ्चालन हुनेछ।

कुल १३ जिल्लाबाट १,४६९ जना खेलाडी सहभागी भएका छन्, जसमा प्रति जिल्ला ११३ जना खेलाडी छन्। प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराँते र उस्सु गरी ६ विधाका खेल समावेश छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*