आन्तरिक स्रोतबाट मनहरीले बनायो पाँचवटा पक्की पुल

प्रदेश सांसद बानियाँले गरे उद्घाटन
संवाददाता
३२ जेष्ठ २०८२, शनिबार १६:१९

मकवानपुरको मनहरी गाउँपालिकाको चारवटा वडाहरूलाई जोड्नका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट पाँचवटा पक्की पुल निर्माण सम्पन्न गरेको छ।

आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड खर्चिएर गाउँपालिकाले निर्माण सम्पन्न गरेको पक्की पुलको शनिबार बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन्।

लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पक्की पुलमध्ये तीनवटा गत वर्ष नै सम्पन्न गरी उद्घाटन गरिएको थियो। बाँकी दुई पुलको शनिबार उद्घाटन भएको हो। मनहरी–३ स्थित ठाडोखोला र हाँडीखोलामा निर्मित पुलको सांसद बानियाँले उद्घाटन गरेका हुन्। ८.४० मिटर चौडाइ र ९० मिटर लम्बाइको तीन स्पानको ठाडोखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो। त्यस्तै, ३५ मिटर लामो एक स्पानको हाँडीखोला पुल भैरव नारायणम जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरेको हो।

मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो।
तीन स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ, २ स्पानको ट्वाङ्ग्रा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा यसअघि नै सम्पन्न गरिएको हो।

तीनवटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो। दुई वर्षभित्रै सम्पन्न गर्नेगरी ०७७ सालमै पुल निर्माणको काम थालिएको थियो।

हेटौँडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्ने गरी ०७७ सालमा एकैसाथ पाँचवटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो।

सो सडकअन्तर्गत सबै पुल निर्माण सकिएसँगै साबिकको हाँडीखोला गाविसका कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयवासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य बानियाँले पुल निर्माणसँगै हाँडीखोलाका कृषि उत्पादन सहज रूपमा बजारमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माण सकिएसँगै मनहरी गाउँपालिकाको चारवटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*