कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित पालिका घोषणा

संवाददाता
३१ जेष्ठ २०८२, शुक्रबार १६:१३

मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिका पहिलोपटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा भएको छ। शुक्रबार विशेष समारोहबिच बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले औपचारिक रूपमा पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन्।

यस घोषणासँगै कैलाश गाउँपालिका पूर्ण संस्थागत गर्भजाँच सुनिश्चित भएको पालिका पनि बन्न सफल भएको छ। राष्ट्रिय पूर्ण खोप निर्देशिकाअनुसार १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए।

जिल्ला पूर्ण खोप समन्वय समितिको सचिवालयले पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेसँगै यो उपलब्धि सार्वजनिक गरिएको अध्यक्ष मोक्तानले बताए।

कार्यक्रममा खोप सुनिश्चित पालिका घोषणाका लागि सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान एवं पुरस्कृत गरिएको थियो। ४२ स्वास्थ्यकर्मीलाई प्रशंसापत्र, १० वटै वडाका स्वास्थ्य चौकी, ७ वटा स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित संघसंस्थालाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले जानकारी दिए। यस्तै, पत्रकार गणेश दुलाललाई नगदसहित सम्मान गरिनुका साथै खोप अभियानमा योगदान दिने तीनजना उत्कृष्ट स्वास्थ्यकर्मी र तीनवटा स्वास्थ्य चौकीलाई पुरस्कृत गरिएको उपाध्यक्ष मल्लले बताए।

उनका अनुसार यसअघि, वैशाख महिनाको अन्तिम सातामा कैलाशका वडाहरूलाई पनि पूर्ण खोप वडा घोषणा गरिएको थियो। आजको कार्यक्रममा १० वटै वडाका अध्यक्षहरू र स्वास्थ्य चौकी प्रमुखहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*