कैलाशको दुर्गम ज्यान्द्रुङमा बर्थिङ सेन्टर सञ्चालन 

संवाददाता
२५ जेष्ठ २०८२, शनिबार १८:००

मकवानपुरको दुर्गम कैलाश गाउँपालिका–४ स्थित ज्यान्द्रुङमा सुरक्षित प्रसूतिका लागि ‘बर्थिङ सेन्टर’ र ‘ओटिसी सेन्टर’ सञ्चालनमा आएको छ। शनिबार आयोजित कार्यक्रमबिच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त केन्द्रको उद्घाटन गरेका हुन्।

गाउँमै सुरक्षित सुत्केरी सेवा उपलब्ध गराउँदै घरमै सुत्केरी गराउने चलन अन्त्य गर्ने उद्देश्यले बर्थिङ सेन्टर स्थापना गरिएको अध्यक्ष मुक्तानले जानकारी दिए। उनले आगामी वर्षदेखि कैलाश गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाए।

बर्थिङ सेन्टरसँगै कडा कुपोषण भएका बालबालिकाको उपचारका लागि ओटिसी सेन्टर पनि सञ्चालनमा आएको छ। केन्द्र निर्माण तीन रोपनी जग्गा दान गर्ने स्थानीय कर्णबहादुर थिङको सहयोगले सम्भव भएको हो।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवका अनुसार करिब १३ लाख रुपैयाँको लागतमा केन्द्र निर्माण गरिएको हो। उक्त सेवा केन्द्रबाट गोपेघारी, देउतिस, धुस्राङ, देउराली र लिच्चे क्षेत्रका बासिन्दाहरू लाभान्वित हुनेछन्।

कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले केन्द्रको प्रयोग गरी सुरक्षित सुत्केरी सेवा लिन सबैलाई आग्रह गरे। उनले घरमा सुत्केरी गराउँदा जोखिम बढ्ने भएकाले स्वास्थ्य केन्द्रमै सुत्केरी गराउनु उपयुक्त हुने बताए।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराएको छ। यस्तै, वडाध्यक्ष तिलकबहादुर मुक्तानले अब डोकोमा बोकेर सुत्केरी लैजानुपर्ने दिन अन्त्य भएको बताए। साथै, केन्द्रले आमा-बच्चाको स्वास्थ्यमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे। बर्थिङ सेन्टर २४ घण्टा सेवा सञ्चालनमा रहने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*