बागमतीको नीति तथा कार्यक्रममा खेलकुद : अन्तर्राष्ट्रिय रंगशाला निर्माणदेखि खेलाडी प्रशिक्षण र उद्यमशिलतासम्म

संवाददाता
१५ जेष्ठ २०८२, बुधबार १६:५२

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा युवा तथा खेलकुद क्षेत्रमा पूर्वाधार विकाससँगै प्रशिक्षण तथा व्यवसायिकताका विषयहरु समेटेको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण, खेलकुदका गतिविधि, प्रशिक्षण तथा युवा उद्यमशिलताका विषयहरु समेटेको हो।

सरकारले ‘स्वास्थ्य तथा अनुशासनका लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुद पूर्वाधारको विकास र प्रशिक्षणको व्यवस्था गरी प्रतिभावान, व्यवसायिक तथा अन्तर्राष्ट्रिय पदक हासिल गरेका खेलाडीहरुलाई खेल क्षेत्रमा निरन्तरता दिन प्रोत्साहन गर्ने नीति लिएको छ। नीति कार्यक्रममा उल्लेख भएअनुसार प्रदेश सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहलगानीमा निर्माण गरी प्रतिफल बाँडफाँडको व्यवस्था गरिने छ।

हेटौँडाको गौरीटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद रंगशाला तथा खेलकुद संरचना र प्रदेशमा निर्माणाधीन अन्य खेलकुद पूर्वाधारको कामलाई निरन्तरता दिने सरकारको नीति कार्यक्रममा उल्लेख छ। ‘युवाको सर्वाङ्गीण विकास, राष्ट्र निर्माणको आधार’ अभियानलाई निरन्तरता दिने, युवा वर्गको उद्यमशीलता विकास गर्न आवश्यक तालिम, सीप विकास, रोजगार सृजना गर्ने कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने सरकारको योजना छ।

स्थानीयस्तरमा हुने खेलकुदलाई प्रोत्साहन गर्दै प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, खेल पर्यटनको विकासका लागि पर्वतीय खेलसहितका पहिचान गरिएका साहसिक खेलहरुलाई समेत समावेश गर्ने, खेलाडीहरुलाई एन्टी डोपिङसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम र स्वयंसेवक खेलकुद प्रशिक्षक कार्यक्रमलाई निरन्तरता दिने सरकारको नीति कार्यक्रममा उल्लेख छ।

उद्यमशीलता, रोजगारी र खेलकुदमार्फत राष्ट्र निर्माणमा युवाहरुको योगदान वृद्वि गर्ने लक्ष्यअनुरुप ‘एक निर्वाचन क्षेत्र, एक बहुउद्देश्यीय खेलमैदान’ कार्यक्रम सञ्चालन गर्ने, वातावरण तथा पर्यावरणीय संरक्षणमा युवा जनशक्ति परिचालन गर्ने सरकारको योजना छ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफू खेल क्षेत्रबाट आएको व्यक्ति भएकाले खेलकुदका आवस्यकताहरु परिपूर्ति गर्नेगरी आवस्यक विषयहरु नीति तथा कार्यक्रमा समेटेको बताए। मन्त्री महर्जनले नीति तथा कार्यक्रमअनुसार नै बजेट आउने भएकाले बागमती प्रदेशले आगामी दिनमा पछाडी फर्केर हेर्नु नपर्ने गरी भौतिक पूर्वाधार र खेलाडी उत्पादनको आधारशिला तयार हुने दाबी गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*