बागमती प्रदेशको समस्याग्रस्त सहकारी समितिमा दुई सदस्य नियुक्त

संवाददाता
१४ जेष्ठ २०८२, मंगलवार १३:५७

बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि गठन गरिएको समितिमा दुई नयाँ सदस्य नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका– ११ का नेत्रराज पौडेल र रामेछाप मन्थली नगरपालिका– १ की निशा न्यौपानेलाई समितिमा सदस्यको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, समितिमा एकजना महिला अनिवार्य सदस्यको व्यवस्था रहेकाले निशा न्यौपानेलाई नियुक्त गरिएको हो। साथै, समितिमा विज्ञताका आधारमा एकजना चार्टर्ड एकाउन्टेन्टको नियुक्ति बाँकी रहेको उनले बताए ।

यसअघि २२ पुस ०८० मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८२(१) अनुसार समितिको गठन गरी तीन सदस्य नियुक्त गरेको थियो। ८ फागुनको बैठकले समितिको कार्यालय सञ्चालनका लागि १४ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको थियो । समितिलाई समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने अधिकार रहेको छ। समितिको काम, कर्तव्य र अधिकार प्रदेश सहकारी ऐन २०७६ को दफा ८३ अनुसार तोकिएको छ ।

त्यसैगरी, बैठकले हेटौँडा अस्पतालको संक्षिप्त कर्मचारी दरबन्दी तेरिज स्वीकृत गर्दै एक पद समायोजन गरेको छ। साथै, निजी वन क्षेत्रका साल प्रजातिका रुख कटान तथा ओसारपसार अनुगमनसम्बन्धी कार्यविधि ०८२ र प्रदेशस्तरीय लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति ०८२ पनि स्वीकृत गरिएको मन्त्री लामिछानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*