कुलेखानी–कलंकी–हुमाने सडक १९ दिनका लागि बन्द

संवाददाता
३० बैशाख २०८२, मंगलवार १२:०१

बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख वैकल्पिक मार्ग मानिने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कामका लागि उक्त सडक खण्डमा तत्काल सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रशासनले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन)का लागि उक्त सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइने जनाएको हो। पूर्वाधार विकास कार्यालय, हेटौँडाको अनुरोधमा सडक मर्मत तथा कालोपत्रेको काम सम्पन्न नहुँदासम्मका लागि सवारी आवागमन बन्द गर्ने  निर्णय गरिएको हो।

सडकको स्तरोन्नति कार्य इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने खण्डमा भइरहेको पूर्वाधार विकास कार्यालय हेटौँडाले जनाएको। काम तीव्र रूपमा सम्पन्न गर्न र सवारी सुरक्षाका लागि सडक पूर्ण रूपमा बन्द गर्नुपरेको प्रशासनको भनाइ छ।

यस अवधिमा प्रशासनले यात्रु तथा सवारीचालकहरूलाई कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकजस्ता अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। यस सडक खण्डको स्तरोन्नतिपछि हेटौँडाबाट काठमाडौं जोड्ने वैकल्पिक मार्ग थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको प्रशासन कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*