कुलेखानी फाखेल –हुमाने सडकमा मन्त्री मास्केले गरे आकस्मिक अनुगमन

संवाददाता
१० जेष्ठ २०८२, शुक्रबार ११:३७

 २ जेठबाट कालोपत्रे सुरु भएको कुलेखानी–फाखेल–हुमाने सडकमा लापरवाही ढंगबाट काम भएको गुनासो आएपछि बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री अमनकुमार मास्के आकस्मिक अनुगमनमा पुगेका छन्। मन्त्री मास्केले बिहीबार साँझ उक्त सडकको स्थलगत अनुगमन गरेका हुन् ।हेटौँडा–काठमाडौं जोड्ने उक्त सडक बागमती प्रदेश सरकारको लगानीमा असारअगावै सक्ने गरी स्तरोन्नती सहित कालोपत्र गर्ने काम भइरहेको छ ।

उक्त सडक खण्डको हुमानेदेखि राकस खोलासम्म गरिएको कालोपत्रे उक्किएको भन्दै स्थानीयहरुले विरोध गरेका थिए । केही दिनअघि मात्र हालिएको उक्त कालोपत्रे उक्किएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि सडकको अवस्था बुझ्न मन्त्री मास्के आफै पुगेका हुन् । २० दिनमा कालोपत्रे सक्ने गरी काम भइरहेको उक्त सडकमा रातको समयमा पनि कालोपत्रे हाल्ने काम भइरहेको थियो ।

पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार जेठ १९ गतेसम्म काम सक्नुपर्ने र मौसम अनुकुल नहुँदा रातको समयमा पनि काम गराइएको थियो । विपद् प्रभावित उक्त सडकको असार अगावै काम सक्नेगरी निर्माण व्यवसायीलाई अधिकतम परिचालन गरी सडक कालोपत्रे गर्ने काम भएको कार्यालयका प्रमुख इन्जिनियर सुजन भण्डारीले जानकारी दिए ।

उनका अनुसार वर्षायाममा हेटौंडा काठमाडौं सहज यात्राका लागि सो सडक तयार गर्नेगरी विपदबाट क्षती पुगेकाे क्षेत्रमा समेत काम भइरहेको र कालोपत्रे गर्नुपर्ने स्थानमा छिटो काम सक्नेगरी अघि बढाइएको उनले बताए । कालोपत्रे हालिएको स्थानमा केही व्यक्तिहरुले साबेल प्रयोग गरी उकाउने र असारे विकास भन्दै विरोध गर्ने काम गरेको उनको दावी छ । सडक कालोपत्रसहित विपदले क्षति पुगेको स्थानको व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको उनको भनाइ छ ।

१२.६ किलोमिटर लम्बाइ र ८.२० मिटर चौडाइ (हुमानेदेखि कंलकी) सम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको उनले जानकारी दिए । सडकको ८.५० किलोमिटर कालोपत्र तथा ४ किलोमिटर ढलान कार्य हुने उनले बताए । उनका अनुसार गत २०८० वैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९१६ रुपैयाँमा सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो । हाल सो सडक खण्डको २ कलिोमिटर सडक कालोपत्रे कार्य भइसकेको छ ।

अनुगमनका क्रममा मन्त्री मास्केले निर्माण भएका संरचनाको गुणस्तर कायम गर्ने विषयमा गम्भिर हुन निर्देशन दिएका छन्  । गुणस्तरमा मन्त्रालयले कुनैपनि कम्प्रोमाइज नगर्ने उनले बताए । गत असोजमा गएको विपदमा बाढीका कारण कुलेखानी फाखेल हुमाने सडक सहित हेटौंडा काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी दक्षिणकाली सडकमा समेत क्षती पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*