अस्पतालको बोर्ड केरमेट गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा

संवाददाता
५ बैशाख २०८२, शुक्रबार १८:३६

अस्पतालको बोर्ड केरमेट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले धरौटीमा रिहा गरेको छ। बिहीबार पक्राउ परेका ६ जना शुक्रबार धरौटीमा रिहा भएका हुन्।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको आदेशमा हेटौँडा अस्पतालको बोर्डबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम मेटाएको अभियोगमा पक्राउ परेका हेटौँडा– ५ का विशालराज महत, हेटौँडा– ४ का सुनील गिरी, हेटौँडा– ६ का सफल अधिकारी, मकवानपुरगढी– ५ का राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाललाई रिहा गरिएको हो।

बिहीबार मात्र उनीहरूलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरिएको थियो।  प्रमुख जिल्ला अधिकारीले जनही एक हजार रुपैयाँ जरिवाना तिराएर थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीले पक्राउ परेकाहरूलाई जनही सात सय रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

गत ३१ चैतमा अस्पतालको बोर्डमा केरमेट गरेका उनीहरू बिहीबार आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए। हेटौँडा अस्पताललाई प्रतिष्ठनमा गाभ्न नहुने भन्दै उनीहरूले हेटौँडा अस्पतालको बोर्डबाट मदन भण्डारी प्रतिष्ठानको नाम मेटाएका थिए।

साबिक जिल्ला अस्पतालको रूपमा सञ्चालित हेटौँडा अस्पताल संघीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकारअन्तर्गत प्रादेशिक अस्पतालको रूपमा रहेको थियो। प्रदेश सरकारले २०७६ मा प्रतिष्ठानको ऐन जारी गरेर हेटौँडा अस्पताल प्रतिष्ठानमातहत रहने व्यवस्था गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*