लागुऔषध दुर्व्यसनी रोक्न सबैको साझा प्रतिबद्धता आवश्यक : मन्त्री लामिछाने

संवाददाता
९ बैशाख २०८२, मंगलवार १९:३४

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले लागुऔषधकाे दुर्व्यसनी रोक्न प्रहरीले मात्र नसक्ने बताएका छन् । उनले व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई नै क्षति पुर्‍याइरहेको लागुऔषध दुर्व्यसनी रोक्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले आयोजना गरेको प्रदेशस्तरीय लागुऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी कार्यशालामा बोल्दै मन्त्री लामिछानेले करिअर बनाउने उमेरका युवा क्रमशः लागुऔषधको सिकार बन्दै जानु दुःखद भएको बताएका हुन् । उनले देशका प्रमुख सहरहरूका युवा लागुऔषधको चपेटामा परिरहेको भन्दै लागुऔषध नियन्त्रणमा साझेदारीका लागि सबैसँग आग्रह पनि गरे ।

मन्त्री लामिछानेले प्रतिनिधिसभा र प्रदेश सभामा गाँजाको वैधानिकताबारे चर्चा हुने गरेको उल्लेख गर्दै यसका कारण पनि प्रदेशका केही जिल्लाहरूमा गाँजा र अफिमजस्ता लागुऔषध उत्पादन खेती मौलाएको दाबी गरे । यसलाई रोक्न प्रहरी प्रशासन मात्र पर्याप्त नभएको उनको भनाइ थियो । ‘यदाकदा गाँजाखेती मात्रै हुने गरेका मकवानपुर, धादिङ र चितवन जिल्लाहरूमा पछिल्लो समय गाँजासँगै अफिमखेती पनि मौलाउन थालेको छ,’ उनले भने, ‘यो राम्रो कुरा होइन । गाँजा र अफिमखेतीलाई नियन्त्रण गर्न तीन तहको सरकारबिच समन्वय र सहकार्य हुनुपर्छ । प्रहरी प्रशासनले मात्र गाँजा र अफिमखेती नियन्त्रण गर्न सक्दैन ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले लागुऔषधको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रदेशको राजधानी हेटौँडा लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको र यहाँका युवाहरूको अवस्था भयावह भएको बताएका थिए । उनले ३० वर्षमुनिका अधिकांश युवा लागुऔषधको लतमा पर्नु चिन्ताको विषय भएको बताए ।

कार्यपत्र प्रस्तुत गर्दै प्रहरी प्रमुख खड्काले प्रहरी एक्लैले मात्र लागुऔषध नियन्त्रण गर्न कठिनाइ हुने स्पष्ट पारे । मकवानपुरका केही पालिकाहरूमा गाँजा र अफिमखेती मौलाउँदै गएको उल्लेख गर्दै उनले लागुऔषध उत्पादन रोक्न त्यहाँका जनप्रतिनिधिहरूलाई जिम्मेवार आवश्यक रहेकोमा जोड दिए । प्रहरी प्रमुख खड्काका अनुसार चालू आर्थिक वर्षको नाै महिनामा मात्र मकवानपुर प्रहरीले चार हजार केजीभन्दा बढी गाँजा र १८ केजीभन्दा बढी अफिम नियन्त्रणमा लिइएको छ । यस्तै, लागुऔषध ओसारपसारमा संलग्न भएका १७८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*