शिलान्यासको १७ वर्षपछि गौरीटार रंगशालामा फुटबल मैदानको उद्घाटन

संवाददाता
१० बैशाख २०८२, बुधबार १३:२४

शिलान्यास भएको १७ वर्षपछि गौरीटार रंगशालामा फुटबल मैदानको उद्घाटन भएको छ । हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालाको शिलान्यास २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए । फुटबल रंगशालाले पूर्णता पाउन डेढ दशक लागेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बुधबार रंगशालाको उद्घाटन गरेका छन् । निर्धारित मितिअनुसार २९ पुस ०८१ मा रंगशालाका सबै निर्माण कार्य सकिनुपर्ने थियो ।

रंगशालाको मैदान, रनिङ ट्र्याक, प्यारापिटका सिट र पर्खाल निर्माणमा २० करोड ४६ लाख ७४ हजार रुपैयाँ खर्च भएको खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । ०७४ मा प्रदेश सरकारको मातहत आएपछि रंगशालाको भौतिक निर्माणले गति लिएको हो । फुटबल मैदान बने पनि रंगशालाको भौतिक पूर्वाधारका काम बाँकी थियो ।

पूर्वाधार निर्माण पूरा नहुँदा रंगशालाको उद्घाटन रोकियो । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले प्रत्यक्ष निगरानी तथा निरीक्षणपछि रंगशालाको निर्माणकार्य सम्पन्न भएको बताए । रंगशालाको प्यारापिटमा दुई हजार चार सय कुर्सी जडानसँगै रनिङ ट्र्याकको बेस कोर्स र १०५.६८ मिटरको खेलमैदानमा पानी निकासको स्वचालित सिस्टम जडान गरिएको सदस्यसचिव लामाले जानकारी दिए । यसैबिच रंगशाला परिसरभित्र पौडीपोखरी र क्रिकेट रंगशाला निर्माण कार्य भइरहेको लामाले बताए । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रंगशालामा १२ करोड र स्विमिङ पुल निर्माणका लागि नौ करोड रुपैयाँ विनियोजन गरेको थियो । क्रिकेट रंगशालामा पहिलो चरणमा ६ सयभन्दा बढी दर्शक क्षमताको एउटा प्यारापिट बन्नेछ । मैदानमा पाँचवटा पिच, ७० मिटर घेराको मैदान, भिभिआइपीदेखि पार्किङलगायत संरचना निर्माण हुन बाँकी छ ।

मुख्यमन्त्री तामाङले सरकार खेल क्षेत्रको विकास र व्यवस्थापनमा प्रतिबद्ध रहेको बताए । उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माण कामलाई व्यवस्थित गर्ने बताए । ‘सरकारले लगानी मात्र गर्नेभन्दा पनि त्यसबाट उठ्ने राजस्व संकलन गर्ने गरी संरचनाको व्यवस्थापन गर्नुपर्छ,’ उनले भने । खेलकुद विकासमन्त्री महर्जनले खेलकुद क्षेत्रलाई पर्यटनमा जोडेर अघि बढाउनुपर्ने बताए । ‘साहसिक खेलको सम्भाव्यता अध्ययन गरेर पूर्वाधार निर्माणमा जोड दिन सके पर्यटकको आगमन बढाउनेछ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*