यातायात क्षेत्रका समस्या हल गर्न सरकार सकारात्मक छ : मुख्यमन्त्री लामा

संवाददाता
१७ फाल्गुन २०८१, शनिबार १५:५०

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले यातायात क्षेत्रका समस्याहरू हल गर्न सरकार सकारात्मक रहेको बताएका छन्। नारायणी यातायात व्यवसायी संघ हेटौँडाको ३६औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री लामाले यातायात व्यवसायीको विगतदेखिकै समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले यातायात व्यवसायीलाई समस्या बनाइरहेका ऐन, कानुनहरू परिमार्जन गर्न प्रदेश सरकारले काम गरिरहेको दाबी गरे। सरोकारवालाहरूको सुझावसहित यातायातसँग सम्बन्धित ऐन-कानुन संशोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

मुख्यमन्त्री लामाले बिमालाई व्यवस्थित गर्न सम्बन्धित पक्षहरूसँग छलफल अघि बढाएको जानकारी दिए। दुर्घटनामा परेका व्यक्तिहरूको औषधि उपचारमा सघाउ पुर्‍याउन कोष स्थापना गर्ने तयारीमा प्रदेश सरकार रहेको उनले बताए।

कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेश सरकारको महत्त्वपूर्ण राजस्वको स्रोत यातायात क्षेत्र रहेको उल्लेख गर्दै यातायात क्षेत्र व्यवस्थित गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट परे। उनका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्षमा यातायात क्षेत्रबाट १३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो।

कार्यक्रममा संघले हेटौँडामा मुख्यालय रहेको मानव सेवा आश्रमलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ भने लामो समयदेखि दुर्घटना नगराउने पाँच चालक क्रमशः हेटौँडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौंका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार रायलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*