हेटौँडा– १२ मा शंखधर साख्वा पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास
हेटौँडा उपमहानगरपालिका– १२ मा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा स्थापना, पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको ७५ लाख बजेट एवं स्थानीय श्रमदान गरी ८३ लाख ३६ हजारमा उक्त योजना निर्माण गर्न लागिएको हो ।
चार बिघा क्षेत्रफलमा निर्माण हुने पार्क क्षेत्रलाई पदमपोखरीकै सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने नेवाः गुठी खल पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीले जानकारी दिए । उनका अनुसार पार्कमा पर्खाल, गेट, शंखधर साख्वाको प्रतिमा, पोखरी, ढुंगेधारालगायतका पूर्वाधार निर्माण गरिनेछ ।
पार्क निर्माण शिलान्यास गर्दा बागमती प्रदेश सभा सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री एकालाल श्रेष्ठले शंखधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न आवश्यक रहेको बताए ।
उनले पार्कलाई पदमपोखरीआसपासका अन्य समुदायको संस्कृतिलाई समेत जोडेर विकास गर्न सकिने बताउँदै सरकारले मात्र नभई स्थानीयस्तरबाट समेत सहयोगको आवश्यकता औँल्याए । जनस्तरबाट चासो र योगदान भए मात्रै पदमपोखरीको वास्तविक विकास सम्भव भएको उनको भनाइ थियो ।
कार्यक्रममा स्थानीय अगुवा राजेश नगरकोटी, नेवाः गुठी खल मकवानपुरका अध्यक्ष अनिल खड्गे, समाजसेवी सीताराम प्रधानलगायतले पार्कलाई नेपालकै नमुना बनाउने प्रतिबद्धता जनाए । उनीहरूले यो केवल सुरुवात मात्रै भएको उल्लेख गर्दै अबको दिनमा थप योजना बनाएर शंखधर साख्वा पार्कलाई नेपालकै उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे ।














