माझी समुदायको लदी पर्व मकवानपुरमा विशेष रूपमा मनाइने

संवाददाता
४ चैत्र २०८१, मंगलवार १९:४२

प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबार मनाइने माझी समुदायको लदी पर्व (कोशी पूजा) यस वर्ष मकवानपुरको बकैयामा २० फागुनमा मनाइने भएको छ। नेपाल माझी उत्थान संघको आयोजनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा लदीपर्व मनाउन लागिएको आयोजकले जनाएको छ।

२० गते बिहान ११ बजेदेखि बकैयाको ६ नम्बर वडास्थित जुइनामा लदी पर्व (कोशी पूजा) विशेष कार्यक्रमका साथ मनाइने नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्ष चिनीमाया माझीले जानकारी दिइन्। लदीको अवसरमा देशैभरका माझी समुदायले नजिकका नदी तथा खोलामा गएर भव्य रूपले पूजा गर्ने चलन छ।

माझी समुदायको सघन बस्ती भएका स्थानीय तहहरूले सार्वजनिक बिदासमेत दिने गरेका छन्। बागमती प्रदेश सरकारले समेत गत वर्ष र यस वर्ष पनि माझी समुदायहरूलाई सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ। नेपाल माझी उत्थान संघ केन्द्रीय समितिको आयोजनामा बकैया– ६ मा लदी पर्व मनाउन लागिएको केन्द्रीय अध्यक्ष चिनीमाया माझीले जानकारी दिइन्।

नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमा माझी पनि रहेको छ। खोला तथा नदीकिनारमा बसोबास गर्ने यो जाति माछा मार्ने, डुंगा चलाएर जीविकोपार्जन गर्ने जातिको रूपमा चिनिएका छन्। यो जातिको आफ्नै भाषा, धर्म, संस्कार संस्कृति, भेषभुषा, रहनसहन र सामाजिक परम्परा छ।

०७८ सालको जनगणनाअनुसार नेपालमा माझीको जनसंख्या एक लाख ११ हजार ३५२ रहेको छ। माझीहरूले दसैँतिहारलगायतका चाडपर्वसमेत मनाउने गरे पनि ऐतिहासिक महत्त्वको हिसाबले लदी माझीहरूको प्रमुख चाड हो। माझीहरूको साझा संस्था नेपाल माझी उत्थान संघको २०६५ माघ २८ गतेको केन्द्रीय समितिको बैठकले यसलाई राष्ट्रिय चाड घोषण गरेको अध्यक्ष माझीले जानकारी दिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*