प्रदेश सरकारलाई प्रभावकारी बनाउन दुईदलीय संयन्त्रको निर्देशन

संवाददाता
१३ फाल्गुन २०८१, मंगलवार २१:०६

सत्तापक्षीय दलहरू कांग्रेस र एमालेबिचको बागमती प्रदेशस्तरीय दुईदलीय संयन्त्रको बैठकले सातबुँदे निर्णय गर्दै प्रदेश सरकारलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ। संयन्त्र संयोजक एवं एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले सातबुँदे निर्णय गरेको हो।

बैठकले बागमती प्रदेश सरकारलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएको छ । बैठकले प्रदेश सरकारअन्तर्गतका विभिन्न निकायमा हुनुपर्ने राजनीतिक नियुक्ति समयमा नै गर्नुपर्ने, सरकारले तय गरेका आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न र न्यून पुँजीगत खर्चलाई बढाउन छिटो छरितो एवं प्रभावकारी तवरले योजना कार्यान्वयन गर्न निर्देश गरेको छ।

यस्तै, गत ११ र १२ असोजमा आएको वर्षा र बाढीबाट बागमती प्रदेशभित्र क्षति भएका सम्पूर्ण संरचनालाई पुनर्निर्माण र विस्थापितहरूको पुनर्स्थापना गर्ने कार्यलाई तीव्रता दिन र वर्षातको समय नजिकिरहेकाले विपद् जोखिम व्यवस्थापनका लागि पूर्वतयारीलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारलाई निर्देशन दिएको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए।

उनले बैठकले बागमती प्रदेशभित्र रहेका समस्याग्रस्त सहकारीहरूको यथार्थ अवस्था पहिचान गर्न तथा सहकारीमा भएको कारोबारका कारण कोही पनि सदस्य पीडित नहुने आवश्यक व्यवस्था मिलाउने कार्यलाई अझ सुदृढ र व्यवस्थित रूपमा अगाडि बढाउन निर्देशन दिएको बताए।

बैठकमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा, एमालेका तर्फबाट बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल तथा आमन्त्रित सदस्यको रूपमा बागमती प्रदेश सरकारका मन्त्री प्रकाश श्रेष्ठको सहभागिता थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*