मकवानपुरको छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित दुई पक्राउ

संवाददाता
१५ फाल्गुन २०८१, बिहीबार १६:०१

मकवानपुर प्रहरीले ३१ किलो ५६० ग्राम लागुऔषध गाँजा, ६ किलो १६० ग्राम अफिम र १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्यान्ड)सहित सुमो र सुमोका चालकलाई नियन्त्रणमा लिएको छ।

१० फागुनमा इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त परिमाणको लागुऔषधसहित सुमोसहित चालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– ९ घर भई काठमाडौं महानगरपालिका पेप्सीकोला बस्ने ३८ वर्षका लालबहादुर तामाङ रहेका छन्। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मकवानपुरको मनहरी– ६ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा साइड लगाई रोकेर राखेको ब.७च ७०१८ नम्बरको सुमोलाई शंका लागी चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको हो।

डिएसपी अर्यालले उक्त सुमोको पछाडिको सिट मुनि लुकाइछिपाइ गरी राखिएको अवस्थामा लागुऔषध फेला परेको जानकारी दिए। लागुऔषध र सुमो नियन्त्रणमा लिने क्रममा फरार भएका तामाङलाई भने प्रहरीले १३ फागुनमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। सुमोचालक तामाङलाई खोजतलासको क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ४ स्थित जोरपाटीबाट नियन्त्रणमा लिइएको प्रवक्ता अर्यालले जानकारी दिए।

यस्तै, प्रहरीले हेटौँडा– ३ बसामाडी लेवटबाट ११ किलो ४२० ग्राम लागुऔषध गाँजासहित दीपक ओझालाई पक्राउ गरेको छ। लेवट प्रहरी चौकीअगाडि पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.४ख ३९३५ नम्बरको यात्रुवाहक बसमा सवार मनहरी– ३ हाँडीखोलाका ४४ वर्षीय ओझा पक्राउ परेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*