खेर गएको केराको थामबाट हातेकागज उत्पादन
मकवानपुरका एक युवकले केराको थाम र बाबियोबाट नेपाली हातेकागज उत्पादन गर्दै आएका छन् । सरकारी प्रयोजनका लागि महत्वपूर्ण मानिने नेपाली कागज प्रायः लोक्ताको कच्चा पदार्थबाट उत्पादन हुन्छ । तर, मकवानपुर गढी गाउँपालिका– ३, बाबियोडाँडाका ३५ वर्षीय प्रेमप्रसाद तिमल्सिना ‘कुबेर’ले केराको कच्चा पदार्थबाट कागज उत्पादन गर्न उद्योग नै स्थापना गरेका छन् । ‘लोक्ताबाट नेपाली कागज उत्पादन हुन्छ भन्ने सुनेको थिएँ । हाम्रो गाउँ केराको पकेट क्षेत्र हो । यहाँ केरा उत्पादन भएपछि त्यसको थाम त्यसै खेर जाने गरेको छ,’ उनले भने, ‘मल पनि नहुने र त्यसै खेर जाने केराको रेसाबाट कागज उत्पादन गर्न सुरु गरेँ ।’
केराको रेसाबाट पनि कागज बनाउन सकिन्छ कि भन्ने लागेपछि उनले इन्टरनेटमा त्यसबारे खोजी गरे । इन्टरनेटमा केराको रेसाबाट कागज बनाएको देखेपछि आफू उत्साहित भएको उनको भनाइ छ । वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष साउदीमा ड्राइभिङ पेसा गरेका उनीसँग खासै अन्य कामको अनुभव भने थिएन । काठमाडौंमा बसेर केही समय ट्याक्सी पनि चलाए । त्यसपछि गाउँ फर्केका तिमल्सिनाले पशु प्राविधिक तालिम लिएर बाख्रापालन पनि सुरु गरे । अहिले उनी बाख्रापालनसँगै गाउँमा खेर गइरहेको केराको रेसाबाट हाते कागज उत्पादन गरिरहेका छन् ।
तिमल्सिनाले आठ लाख रुपैयाँ लगानीमा हाते कागज उद्योग दर्ता गरेरै सञ्चालन गरिरहेका छन् । उद्योग सञ्चालन भएको पहिलो महिनामै ५० हजारको कागज उत्पादन गरेको उनको भनाइ छ । डेढ लाखमा काठमाडौंबाट फाइबर निकाल्ने मेसिन ल्याएर कागज उत्पादन थालेका तिमल्सिनालार्ई अहिले काम भ्याई–नभ्याई छ । पहिलो चरणमा दुई सयवटा फ्रेमबाट कागज उत्पादन सुरु गरेका तिमल्सिनाले लगानी बढाएर पाँच सयभन्दा बढी फ्रेमबाट कागज उत्पादन गर्ने सोचमा छन् । मकवानपुरगढी गाउँपालिकाले नेपाली कागज उनीसँगै खरिद गर्ने प्रतिबद्धता जनाएको छ । तिमल्सिनाका अनुसार गाउँपालिकाले पहिलो खेपमा पाँच हजारप्रति कागज माग गरेको छ । उनका अनुसार सामान्यतया एउटा केराको बोटबाट आधा किलो फाइबर निकाल्न सकिन्छ भने २५ वटासम्म कागज बन्छ । हाल दैनिक पातलो र बाक्लो गरी एक कुरी अर्थात् दुई सय पिस कागज उत्पादन गर्दै आएको उनले बताए ।
केराको पकेट क्षेत्र भएकाले कच्चा पदार्थको समस्या नहुने उनको भनाइ छ । ‘कच्चा पदार्थको पर्याप्तता छ । बजारको पनि समस्या छैन । उत्पादन भएका कागज स्थानीयस्तरमै खपत भइरहेको छ,’ उनले भने, ‘गाउँपालिकाले नै खरिद गरिदिन्छु भनेपछि झन् ढुक्क छु ।
यसरी बन्छ केराबाट कागज
सुरुमा केराको थाम र डन्ठा जम्मा गरिन्छ । त्यसपछि मेसिनमा हालेर फाइबर निकालिन्छ र सुकाइन्छ । फाइबरलाई कास्टिङ सोडामा हालेर बाबियोसहित पाँच घण्टाजति पकाएपछि त्यसलाई तीन–चारपटक पानीले धुनुपर्छ । त्यसपछि त्यसलाई कुटेर, मेसिनमा हालेर मसिनो हुने गरी लेदो बनाउनुपर्छ । कागज सुकाउने काठको जालीसहितको फ्रेममा आवश्यक कच्चा पदार्थ हालेर पानीबाट छानेर घाममा सुकाउनुपर्छ । घाम लागेका वेला करिब दुई–तीन घण्टामा सुकेर तयार हुन्छ र त्यसलाई निकालेर आवश्यक साइजअनुसार काटेर बिक्रीका लागि बजार पठाइन्छ ।














