सेना दिवसमा मध्यपृतना हेडक्वार्टर हेटौँडाले खेलकुद गतिविधि गर्ने
२६२औँ सेना दिवस एवं महाशिवरात्रिको अवसर पारेर मध्यपृतना हेडक्वार्टर हेटौँडाले खेलकुद गतिविधिका साथै विविध सैनिक प्रदर्शनी गर्ने भएको छ।
१७ फागुनमा आयोजना हुने कार्यक्रममा खेलकुदलगायत वाकाथन, एडभेन्चर रेस च्यालेन्ज र नेपाली सेनासम्बन्धी विविध प्रदर्शनी हुने मध्यपृतना हेडक्वार्टर हेटौँडाका महासेनानी बिमल शर्माले जानकारी दिए। उनका अनुसार ‘हिँड्नु र दौडनु, आफ्नो उत्कृष्टताका लागि’ भन्ने मूल नारासहित वाकाथन, एडभेन्चर रेस च्यालेन्ज आयोजना गर्न लागिएको हो।
५ किलोमिटर दूरीको वाकाथन प्रतियोगितामा नेपाली सेनाका साथै सर्वसाधारणले समेत सहभागिता जनाउन पाउने महासेनानी शर्माको बताए। सामरी ग्राउन्डमा हुने एडभेन्चर रेस च्यालेन्जमा हेटौँडाका विभिन्न विद्यालयका २० टिम, नेपाली सेनाको १४ टिम र गैरसैनिक ७ टिमको सहभागिता रहनेछ। दुवै विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद बिस हजार, पन्ध्र हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनको भनाइ छ।
उक्त दिन नेपाली सेनाको विविध पक्षका बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको महासेनानी शर्माले बताए। नेपाली सेनाको इतिहास, सैनिक नागरिक सम्बन्ध, विकास निर्माण, विपत् व्यवस्थापन, राष्ट्रिय निकुञ्ज सुरक्षामा नेपाली सेनाको योगदान झल्कने प्रर्दशनी गरिने उनको भनाइ छ।














