पहिलो सहभागितामै चर्च ब्वाइजले उचाल्यो बागमती गोल्डकपको उपाधि 

संवाददाता
१२ फाल्गुन २०८१, सोमबार १९:३९

पहिलो सहभागितामै बागमती गोल्डकपको उपाधि जित्दै चर्च ब्वाइज युनाइटेडले इतिहास रचेको छ। छैटौँ संस्करणसम्म प्रतियोगितामा सहभागिता नजनाएको चर्च ब्वाइजले सातौँ संस्करणको पहिलो सहमागितामै उपाधि उचालेको हो।

सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साबिक विजेता मच्छिन्द्र क्लबलाई १–० गोलले निराश बनाउँदै चर्च ब्वाइजले उपाधि उचाल्यो। चर्च ब्वाइजलाई उपाधि दिलाउने क्रममा समीर तामाङ नायक बने। उनले खेलको ४७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

खेलको म्यान अफ द म्याच गोलकर्ता तामाङ नै घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेको खेलमा थप गोल हुन नसक्दा खेल चर्च ब्वाइजले १–० ले जितेको हो। यसअघि चर्च ब्वाइजले विभागीय टोली एपिएफ र मच्छिन्द्रले थ्री स्टारलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।

चर्च ब्वाइजले उपाधिसँगै पायो १० लाख 
उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। यस्तै, उपविजेता बनेको साबिक विजेता मच्छिन्द्रले पाँच लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए। उनले नगद एक लाख एक हजार १०१ रुपैयाँ प्राप्त गरेका छन्।

यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मच्छिन्द्रका रोशन रानामगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र  प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए। बिधागत उत्कृष्ट सबैले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगिता आयोजक गाउँपालिका खेलकुद विकास समितिले गाउँपालिकाको खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै रेडियो झुरझुरेका स्टेसन म्यानेजर विवेक सिंतानलाई १५ हजार राशिको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*