चेपाङ आवास निर्माणका लागि ६ जनासँग सम्झौता

संवाददाता
१२ फाल्गुन २०८१, सोमबार १७:३६

बागमती प्रदेश सरकारको चेपाङ आवास कार्यक्रमअन्तर्गत मकवानपुरको कैलाश गाउँपालिकामा बन्ने आवास निर्माणका लागि ६ जनासँग सम्झौता भएको छ। सोमबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठकमा उनीहरूसँग सम्झौता गरिएको हो।

बागमती प्रदेश सरकारबाट चेपाङ, वनकरिया, बोटे, माझीको एकीकृत बस्ती तथा आवास कार्यक्रमअन्तर्गत उक्त सम्झौता गरिएको हो। लाभग्राहीहरूलाई लक्षित गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले कार्यालयको मापदण्डअनुरूप घर बनाउन आग्रह गरे।

सम्झौता गर्ने, काम नगर्ने छुट कसैलाई नभएको भन्दै उनले आफू बस्ने गरी आवास बनाउन आग्रह गरे। ‘राज्यले घर बनाउनको लागि लगानी गरी सहयोग गरेको हो। काम गर्दा प्राविधिक पक्षलाई पनि ख्याल गर्दै काम गरिनुपर्छ,’ उनले भने, ‘राज्यको लगानी सदुपयोग हुने गरी आफैँ बस्नका लागि आवास बनाऊ।’

प्रदेश सरकारले कार्यविधि बनाएरै बस्ती तथा आवास निर्माण सुरु गरेको छ। सिफारिस माग भएबमोजिम चालू आवमा कैलाश गाउँपालिका–३ का तीनजना र वडा नम्बर ४ का तीनजना गरी ६ जनाको नाम सिफारिस भएको अध्यक्ष मुक्तानले जानकारी दिए। यसअघि गत आवमा २५ जनाले सम्झौता गरेको थिए।

अध्यक्ष मुक्तानका अनुसार लाभग्राहीले १२-१२ को दुईकोठे घर निर्माण गर्नुपर्ने मापदण्ड रहेको कैलाशका फोकल पर्सन सुदर्शन दवाडीले जानकारी दिए। दुईकोठे भवनसँगै सम्झौताअनुरूप शौचालयसमेत निर्माण गरिनुपर्ने उनको भनाइ छ। लाभग्राहीले तीन किस्तामा गरी तीन लाख ८४ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*