बागमती गोल्डकप : पहिलो सहभागितामै चर्च ब्वाइज फाइनलमा

संवाददाता
९ फाल्गुन २०८१, शुक्रबार २०:२८

चर्च ब्वाइज युनाइटेड पहिलो सहभागितामै बागमती गोल्डकपको फाइनलमा पुगेको छ। पहिलो हाफमा १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै चर्च ब्वाइज उपाधिनजिक पुगेको हो। शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा उसले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई ३–२ गोल अन्तरले हरायो।

बागमती– ४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन विदेशी खेलाडी आर्मन्ड नायक बने। एक गोलले पछि परेको अवस्थामा उनले दोस्रो हाफमा लगातार दुई गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। आर्मन्डले खेलको ७३औँ र ७७औँ मिनेटमा गोल गरे।

त्यसअघि पहिलो हाफको ३६औँ मिनेटमा एपिएफका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको सुरुवातदेखि निकै राम्रो प्रदर्शन गरे पनि चर्च ब्वाइजका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै एपिएफका राईले गोल गरेका थिए। पहिलो हाफको अग्रतालाई निरन्तरता दिन नसक्दा एपिएफ पराजित भयो।

खेलको ८५औँ मिनेटमा चर्च ब्वाइजका सुमित श्रेष्ठले गोल गरेपछि एपिएफ थप दबाबमा परेको थियो। ९० मिनेटको खेल सकिन दुई मिनेट बाँकी हुँदा एपिएफका हरि कार्कीले गोल गरे पनि उक्त गोल एपिएफलाई हारबाट जोगाउन पर्याप्त हुन सकेन र एपिएफ प्रतियोगिताबाटै बाहिरिएको छ। एपिएफ गत संस्करणको उपविजेता टोली हो। गत संस्करणमा मछिन्द्रसँग पराजित हुँदै एपिएफ उपविजेतामा सीमित भएको थियो।

शुक्रबारको खेलको म्यान अफ दी म्याच आर्मन्ड घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। जितसँगै चर्च ब्वाइज प्रतियोगिताको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ। चर्च ब्वाइजले उपाधिका लागि मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबिचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुईबिचको खेल शनिबार दिउँसो २ बजे हुनेछ।

प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ। प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*